विदेश

बेलायतको बहिर्गमनपछिको ईयूको योजना बुधबार आउने

बेलायतको बहिर्गमनपछिको ईयूको योजना बुधबार आउने
फागुन - १७ । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जङ्करले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमनपछि ईयूको कार्यक्रम कस्ता रहने छन् भन्ने विषयमा बुधबार एउटा योजना सार्वजनिक गर्ने भएका छन्। जङ्करको ‘ह्वाइट पेपर’ भनिएको उक्त कार्ययोजना युरोपेली संसदमा प्रस्तुत गरिने छ। तर यसलाई आयोगका कमिसनरहरुद्वारा मङ्गलबार अवलोकन गर्ने कार्यक्रम रहेको जङ्करका प्रवक्ता मार्गारिटिस स्किनासले बताए। जङ्करद्वारा प्रस्तुत कार्यक्रमलाई युरोपेली नेताहरुले मार्च ९ र १० मा हुने सम्मेलनका क्रममा अध्ययन गरी आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम भएको स्किनासले बताए। बेलायतको ईयूबाट बहिर्गमनका लागि आएको बेलायतको अप्रत्यासित नतिजाले ईयूको अर्थतन्त्र र आप्रवारी समस्यालाई थप सङ्कटतर्फ धकेलिदिएको थियो। यसले ईयूका २८ सदस्य राष्ट्रबीच बेलायतसँगको आगामी सम्बन्ध र ईयूका कार्यक्रम विषयमा जटिल छलफलको विषय बनेको छ। ‘ट्रिटी अफ रोम’ को ६० औँ वर्षगाँठका उपलक्ष्यमा बेलायत विनाको ईयूका कार्यक्रमलाई सार्वजनिक गरिन लागिएको हो। साठी वर्ष पहिले ट्रिटी अफ रोम मार्फत युरोपेली मुलुकले ईयूको घोषणा गरेका थिए। इटालीमा मनाइन लागेको विशेष सम्मेलनमार्फत ईयू नेताहरुवीचको छलफलपछि आगामी १० वर्षको कार्यक्रमलाई सार्वजनिक गर्ने छन्। एएफपी

बहिर्गमन

विशेष