विदेश

चाइना थ्री गर्जेज कम्पनीले १४ वर्षमा १० खर्ब किलोवाट बिजुली

चाइना थ्री गर्जेज कम्पनीले १४ वर्षमा १० खर्ब किलोवाट बिजुली
फागुन - १८ । जलविद्युत उत्पादन गर्ने विश्वको सबैभन्दा विशाल ख्याति प्राप्त कम्पनी थ्री गर्जेजले आफ्नो स्थापनाकालको चौध वर्षमा दश खर्ब किलोवाट (वान ट्रिलियन किलोवाट आवर्स-केडब्लुएच) जलबिद्युत उत्पादन गरेको छ ।
सन् १९९३ मा चीनमा स्थापना भएको चाइना थ्री गर्जेज् कर्पोरेसनले विश्वका विभिन्न मुलुकका जलविद्युत उत्पादन परियोजना सञ्चालन गरी हालसम्म दश खर्ब किलोवाट जलविद्युत उत्पादन गरी वितरण गरिसकेको दाबी गरेको छ । यसैगरी, थ्री गर्जेज् कर्पोरेसनले विश्वभरी इन्धनीय कोइला (स्टान्डार्ड कोल) खपतमा करिब ३२ करोड टनले कमी गराएको तथा बिषाक्त ग्यासहरुः कार्बनडाईअक्साइड-८५ करोड ८० लाख टन तथा सल्फरडायअक्साइड-९० लाख टन विश्व वायुमण्डलमा उत्सर्जन हुनबाट जोगाएको पनि सो कम्पनीले जनाएको छ । हाल थ्री गर्जेज् कर्पोरेसनको स्वामित्वमा जल नियन्त्रण गर्न सक्ने बहू-उद्देश्यीय प्रणालीयुक्त एउटा विशाल बाँध, एकै पटकमा सात लाख किलोवाट जलविद्युत उत्पादन गर्न सक्ने ३२ वटा हाइड्रो पावर टर्बो जेनरेटर, एउटा भीमकाय पाँचतले पानीजहाज र एउटा विशाल शिपलिफ्ट यन्त्र छन् । विश्वमा ठूलठूला नदीमा आउने बाढी नियन्त्रण गर्नमा, अति ठूलो परिमाणमा जलबिद्युत उत्पादन गर्नमा तथा ठूला नदीहरुमा चल्ने पानीजहाजको यातायात ब्यवस्थापन वा नियमितिकरण गर्नमा थ्री जर्जेजले हात हालेका परियोजनाहरुले राम्रो ख्याति आर्जन गरिरहेका छन् । जलविद्युत उत्पादनमा थ्री गर्जेजको कूल वार्षिक क्षमता ८८ अर्ब २० करोड किलोवाट रहेको छ । प्रत्येक युनिटले वार्षिक दुई करोड २५ लाख किलोवाटसम्म जलविद्युत उत्पादन गर्न सक्ने हाइड्रोपावर प्लान्ट जडान र सञ्चालन गर्ने क्षमता यस कर्पोरेशनसँग रहेको समेत दाबी गरिएको छ । नेपालमा थ्री गर्जेजले ७५० मेगावाटको पश्चिम सेति जलविद्युत् आयोजना निर्माण अघि बढाइरहेको छ । यो आयोजनाको लागत १ खर्ब ५० अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ।

Three Gorges

विशेष