विदेश

किम जोङ्गका भाइको हत्यारा पक्राउ

किम जोङ्गका भाइको हत्यारा पक्राउ
फागुन - १९ । उत्तर कोरियाका शासक किम जोङ्ग उनका सौतेला भाइ किम जोङ्ग नामका हत्यारालाई पक्राउ गरिएको छ । गत १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त विमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसियाली सरकारले केही संदिग्ध ब्यक्तिहरुलाई तत्कालै र अन्य शङ्कास्पदलाई केहीपछि पक्राउ गरेको थियो ।
नामको हत्या भएको चारदिनपछि गिरफ्तार गरी प्रहरीले हिरासतमा लिएको एकजना ४५ वर्षीय उत्तर कोरियाली नागरिक–रि जोङ्ग कोलसँग हत्याकाण्ड बारे सोधपुछ गरिएको थियो । अभियुक्तको बयान र प्रहरी अनुसन्धान पश्चात् यस हत्याकान्डमा कोलको संलग्नता भएको प्रमाण नभेटिएका कारण उनलाई हिरासत मुक्त गरिने भएको मलेसियाली सरकारी अधिकारीले जनाएका छन् । यसअघि, मलेसियाली सरकारले कोललाई पक्राउ गर्नुपर्नाको ठोस कारण लासा गरेको थिएन । तर, मलेसिया भ्रमणमा आउन उत्तर कोरियाली नागरिकका लागि आवश्यक पर्ने बैध कागजपत्र कोलसँग मौजुद नभएको कारण देखाई उनलाई हिरासत मुक्त गरी तत्कालै उत्तर कोरिया नै फर्काइने भएको महान्यायाधिवक्ता मोहम्मद अपान्डि अलिले बताएका छन् । नातामा उत्तर कोरियाली शासकका सौतेनी भाइ पर्ने मृतक किम जोङ्ग नामका दुइजना छोरा र एउटी छोरी गरी तीनजना सन्तान रहेका बताइएको छ । उनले चीनको बेइजिङ्ग र मकाउमा बेग्लाबेग्लै बसोबास गर्ने नातेदार महिलाकहाँ आफ्ना सन्तान पठाई त्यहीँ नै पढाउँदै आएका जनाइएको छ । उनीमध्ये मकाउ बस्ने एकजनालाई भेटघाट गर्न जान भनी क्वालालम्पुर विमानस्थलमा उडान कुरिरहेको मौका पारी महिलाद्वयः एकजना इन्डोनेसियाली र एकजना भियतानमेलीले नामको अनुहारमा बिषाक्त रासायनिक पदार्थ–भिएक्स नर्भ एजेन्ट छर्केर भागेका थिए । नर्भ एजेन्ट छर्किएको एक घण्टामै उनको मृत्यु भएको थियो । नाम–हत्याकाण्डका थप अभियुक्तमा अन्य सातजना उत्तर कोरियाली पनि संलग्न छन् भन्ने आशंकामा मलेसियाली सरकारले उनीहरुको ब्यापक खोजबीन गरिरहेको छ । तीमध्ये चार जना त नामको हत्या भएकै दिन मलेसिया छोडेर भागी उत्तर कोरिया नै फर्किसकेका अनुमान गरिएको छ । खोजीमा परेका अन्यमा क्वाललम्पुरस्थित उत्तर कोरियाली राजदूतावासका द्वितीय सचिव र उत्तर कोरियाली सरकारको स्वामित्वमा रहेको एयर कोरियो विमान सेवाका एकजना कर्मचारी पनि रहेको जनाइएको छ । यसैबीच, मलेसिया सरकारले उत्तर कोरियाली नागरिकलाई प्रदान गरिँदै आएको प्रवेशाज्ञा (भिसा) सम्बन्धि नियममा पनि परिवर्तन गरेको छ । हालसम्म मलेसिया प्रवेश र भ्रमण गर्नका लागि उत्तर कोरियाली नागरिकलाई भिसा आवश्यक नपर्दै आएकोेमा सो नियम खारेज भएको छ । उत्तर कोरियाली नागरिक बिना रोकतोक मलेसिया प्रवेश गर्न पाएका र यसले आफ्नो मुलुकमा अपराधका घटना वृद्धि हुनमा सघाएको पो हो कि भन्ने पछिल्लो समयमा सरकारको बुझाइ रहेको जनाइन्छ । भिसा सम्बन्धमा उत्तर कोरियालीलाई दिइएको सहुलियत वा खुकुलो नियमलाई मलेसियाली सरकारले हालैको किम जोङ्ग नाम–हत्याकाण्डसँग जोडेर हेरेको कारण यस अधिको नियम खारेज गरिएको जनाइन्छ । धेरैजसो मलेसियाली अपराध बिज्ञहरुले नाम–हत्याकाण्ड प्योङ्गयाङ्गद्वारा रचना गरिएको षडयन्त्र हो भन्ने आशङ्का गरेका छन् । एपी

Kim Jong Nam

विशेष