राजनीति News

'स्थानीय निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने'

'स्थानीय निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने'
फागुन–२० । प्रहरी नायब महानिरीक्षक रमेशकुमार भट्टराईले स्थानीय निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन् । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनले उम्मेदवार र मतदाता दुबैका लागि विशेष सुरक्षा रणनीति बनाएर लागू गरिने जानकारी गराए । प्रहरी नायब महानिरीक्षक भट्टराईले निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था मिलाउने उल्लेख गर्दै तराई–मधेस केन्द्रित आन्दोलनका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई पनि व्यवस्थित गर्न विशेष सक्रियता अपनाउने जानकारी गराए । सीमावर्ती क्षेत्रका अपराध, हातहतियार निकासी, पैठारी, तस्करीजस्ता कार्यलाई कडाइका साथ नियन्त्रण गर्नुका साथै आपराधिक घटनामा कमी ल्याउनका लागि परिचालनमूलक विशेष अभियान सञ्चालन गर्ने बताउँदै उनले अपराध, भ्रष्टाचार र दण्डहीनतामा शून्यसहनशीलताको नीतिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता प्रकट गरे । रासस

भयरहित वातावरण स्थानीय निर्वाचन

विशेष