अर्थ कर्पोरेट News

लगानी सम्मेलनमा ११ खर्बको लगानी प्रतिवद्धता

लगानी सम्मेलनमा ११ खर्बको लगानी प्रतिवद्धता
फागुन - २० । लगानी सम्मेलनमा ११ खर्बको लगानी प्रतिवद्धता आएको छ । काठमाडौमा दुई दिनसम्म चलेको सम्मेलनमा यति ठूलो लगानीको प्रतिवद्धता आएको हो ।
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा भएको सम्मेलनको समापन समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले ११ खर्बको लगानी प्रतिवद्धता आएको जनाउँदै यति ठूलो लगानीले उत्साहित बनाएको बताए। सरकारले लगानी सम्मेलन गर्दा एक खर्ब रुपैयाँ मात्रै लगानी प्रतिवद्धताको अपेक्षा गरेको थियो। मन्त्री जोशिले लगानीकालागि मूख्य दलका शीर्ष नेताबाट प्रतिवद्धता आउनु सुखद् भएको बताउँदै यसले लगानी बढाउनकालागि अवसर सिर्जना गरेको बताए। लगानी सम्मेलनमा लगानीको वातावरण बनाउन नेपालले थालेका सुधारात्मक कदमहरुका बारेमा वृहत रुपमा छलफलबाट लगानीकर्ता आश्वस्त बनाउन सकिएको उनले बताए । उनले विदेशी लगानीलाई सुरक्षा र सहुलियत दिने प्रतिवद्धता जनाउँदै हरेक विदेशी लगानीकर्ताले नेपालबाट राम्रो प्रतिफल पाउने स्पष्ट पारे। सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका थिए । भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका थिए भनेनेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी थिए ।

लगानी सम्मेलन

विशेष