News

मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय अभियान

मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय अभियान
फागुन - २४ । एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले अन्तर्राष्ट्रिय आप्रावासन सङ्गठन, राष्ट्रसङ्घीय बालकोष र युरोपेली सङ्घको सहयोगमा नेपालसहित १३ मुलुकमा मानव बेचबिखन तथा आप्रवासीको तस्करीविरुद्ध अन्तर्राष्ट्रिय अभियान सञ्चालनको घोषणा गरेको छ।
मंगलबारआयोजित कार्यक्रममा ती संस्थाले मानव समाजको कलङ्कका रुपमा रहेको मानव बेचबिखन तथा आप्रावासीको तस्करी नियन्त्रण अपरिहार्य भएकाले सन् २०१९ सम्म उक्त अभियान सञ्चालन गरिने जनाएका हुन्। अभियानअन्तर्गत ती निकायले नेपालमा महान्यायाधिवक्ताको कार्यालयसँग मिलेर पीडितलाई कानुनी उपचारको बाटो अवलम्बनमा सघाउने, मानव तस्करी र बेचबिखनविरुद्ध प्रभावकारी रुपमा लड्न नेपाल प्रहरीलाई विशेष एकाइ स्थापनामा मद्दत गर्ने, पुनःस्थापना केन्द्रमा रहेकाहरुको मानवअधिकार रक्षा तथा आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितताको प्रत्याभूति, पीडितलाई सीप विकासमा सघाएरसमाजमा पुनःस्थापित गराउने, बाल संरक्षण, बालबालिकाको जन्मदर्ता अद्यावधिक गर्ने तथा मनोरञ्जनात्मक क्षेत्रमा महिला तथा किशोरीलाई दुव्र्यवहार गर्नेविरुद्ध शून्यसहनशीलताको नीति अपनाउन आवश्यक काम गर्नेछन् । कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव राधिका अर्यालले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकार गम्भीरतापूर्वक लागेको जानकारी दिँदै लैङ्गिक हिंसा नियन्त्रण ऐनलगायत आवश्यक ऐनकानुन संसद्बाट पारित गरी लागू गरिएको बताइन्। दक्षिण एसियाका लागि राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयलका प्रतिनिधि सेर्गेई कापिनोसले विश्वव्यापी रुपमा भइरहेको मानव बेचबिखन तथा आप्रवासीको तस्करीको अन्त्यका लागि सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइन्। उक्त अभियान दक्षिण अमेरिकी मुलुक ब्राजिल र कोलम्बिया, अफ्रिकाका इजिप्ट, मरक्को, माली, नाइजर र दक्षिण अफ्रिका, पूर्वी युरोपका बेलारुस र युक्रेन तथा एसियाका नेपालसहित जनगणतन्त्र लाओ, किर्गिजस्तान र पाकिस्तानमा सञ्चालन गरिनेछ ।

International Women Day

विशेष