News

महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु पर्छ - राष्ट्रपति

महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु पर्छ - राष्ट्रपति
फागुन - २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छन्। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विशेष समारोहमा उनले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताएकी हुन्। राष्ट्रपति भण्डारीले भनिन्, “नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन् ।” उनले नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनुु इतिहासको सुखद संयोग भएपनि यसलाई निरन्तरता दिने विषयमा चुनौती रहेको बताइन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिलाको आर्थिक अधिकारलाई समेत सुनिश्चित गरेको र सरकारले विकासको वृद्धि विकासका कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गरिन्। उनले सरकारले साहसिक नेपाली नारी योगमायाको नाममा आयुर्वेदिक विश्वविद्यालय खोल्ने तयारी गर्नु, मङ्गलबारदेखि कपिलवस्तुमा सुरु भएको राष्ट्रपति उत्थान कार्यक्रमजस्ता कार्यक्रमले पनि महिलाको सम्मान गरेको आफूले अनुभव गरेको सुनाइन्। राष्ट्रपति भण्डारीले स्थानीय निकायको निर्वाचन नहुँदा र आर्थिक पहुँचमा नहुँदा महिला पछि परेको हुँदा महिलाले उत्पादनमूलक काममा ध्यान दिनुपर्नेमा जोड दिइन्। सो अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकमा समानरुपमा अगाडि बढाउनुपर्ने र त्यसका लागि संविधानले दिएको हकअधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिइन्। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलाको आर्थिक र सामाजिक विकासका लागि मन्त्रालयले विभिन्न खालका सीपमूलक तालिमहरुको सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताइन्। सो अवसरमा समाजसेवी अम्बिका श्रेष्ठले महिला समानताका लागि महिलाको आर्थिकस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिइन्। प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवस जागरूकतासम्बन्धी दिवस हो । राजनीतिक तवरबाट सुरु भएतापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा यो दिवस बनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ । यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो । त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन सुरु भयो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा ग¥यो । त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रूपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।

विद्यादेवी भण्डारी

विशेष