News स्वास्थ्य

१२औँ मृगौला दिवसः ‘स्वस्थ मृगौलाका लागि स्वस्थ जीवन शैली’

१२औँ मृगौला दिवसः ‘स्वस्थ मृगौलाका लागि स्वस्थ जीवन शैली’

फागुन–२६ । आज (विहीबार) १२औं अन्तर्राष्ट्रिय मृगौला दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदै छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो विहीबार अन्तर्राष्ट्रिय मृगौला दिवस मनाउने गरिन्छ । यस वर्ष भने मार्चको ९ तारिखका दिन विश्वभर ‘स्वस्थ मृगौलाका लागि स्वस्थ जीवन शैली’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मृगौला दिवस मनाइदै छ । विश्व मृगौला दिवसले आफ्नो मृगौलाको महत्वको बारेमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
अन्तराष्ट्रिय मृगौला दिवस हरेक वर्ष ६ उद्देश्यसहित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै मनाउने गरिन्छ । दिवसको उद्देश्य यस प्रकार छ: –मृगौलाको बारेमा चेतनामूलक कार्यक्रम गर्ने र उच्च रक्तचाप र मधुमेह कारण क्रोनिक किड्नी डिजिज (सिकेडी) को कारक रहेको बताउने –मधुमेह र उच्च रक्तचापबारे सबै विरामीहरुलाई व्यवस्थित परीक्षण गर्न सल्लाह दिने –निवारक व्यवहारलाई प्रेरणा प्रदान गर्ने –मेडिकल विशेषज्ञले मृगौला समस्याको परीक्षण र न्यूनीकरणमा आफ्नो भूमिकालाई मजबुध बनाउने –मृगौला समस्याको नियन्त्रणमा स्थानीय तथा राष्ट्रिय स्वास्थ्य अधिकारीहरुको भूमिकामा जोड दिने । अन्तर्राष्ट्रिय मृगौला दिवसमा सरकारलाई मृगौला उपचारको लागि लगानी गर्न प्रोत्साहित गर्ने । – प्रत्यारोपणलाई मृगौला फेलको सर्वाेत्तम उपायमा प्रोत्साहन गर्ने र अंग दानको कार्यलाई जीवन रक्षाको पहलमा स्थापित गर्ने
शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मृगाैलाको मुख्य काम हो । यसबाहेक मृगाैलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मृगाैला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मृगाैलाको हो । नेपालमा पनि बढ्दो व्यस्तता, अस्वस्थकर खानपिनका कारण वर्षेनी मृगौलाका बिरामीहरुको संख्या बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाउँछन् । नेपालमा मात्र ३० हजारको हाराहारीमा मृगौला विरामी रहेको अनुमान गरिन्छ । त्यस्तै, प्रत्येक वर्ष करिव ३ हजारको दरले मृगौला रोगीको संख्या वढ्दै जानेगरेको चिकित्सकको भनाइ छ । नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मृगाैला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मृगाैला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । नेपालमा महिलाभन्दा पुरुष मृगौला रोगीको संख्या वढी रहेको विभिन्न अनुसन्धानले देखाउँछन् । विशेषगरी ३० देखि ६० वर्षको उमेरका व्यक्तिमा वढी धेरै मृगौलाको समस्या देखिने गरेको छ । बढ्दो व्यस्तता, अस्वस्थकर खानपिन तथा जंक फूड (प्याकेटको तयारी खाना)को अत्याधिक सेवन लगायत मध्यपानको अनुचित प्रयोगले गर्दा मृगौलाका बिरामी हरेक वर्ष बढ्दै गएको चिकित्सक बताउँछन् ।

मृगौला दिवस

विशेष