नेपाल बन्दले तराई ठप्प, राजधानीमा असर देखिएन
फागुन २७ । सप्तरी घटनाको विरोधमा २८ दलीय संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको प्रभाव तराईका जील्लामा परेको छ । तराइका अधिकांश जिल्लामा सवारी साधन चलेका छैनन् । बजार,कलकारखाना, शिक्षण संस्था आदिमा पनि प्रभाव देखिएको छ ।
यता काठमाडौं उपत्यका, पहाडी जिल्लाहरुमा भने बन्दको प्रभाव देखिएको छैन । काठमाडौं उपत्यकामा अन्य दिन झै सवारी साधानहरु चलिरहेका छन् । मुख्य चौकहरुमा पनि गठबन्धनका कार्यकर्ताहरु देखा परेका छैनन् । शिक्षण संस्थाहरुमा भने बन्दको प्रभाव देखिएको छ । धेरै जसो विद्यालय, कलेजहरु बन्द भएका छन् ।
संघीय गठबन्धनले सप्तरी घटनाको न्यायिक छानविन गरी दोषीमाथि कारबाही, मृतकहरुलाई शहीद घोषणा, परिवारलाई राहत र घाइतेको उपचारको माग गरेको छ । बल प्रयोग गर्नै नपर्ने ठाउँमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको, सप्तरी घटनामा नेकपा एमाले र सरकार गैरजिम्मेबार बनेको आरोप लगाउँदै २८ दलीय संघीय गठबन्धनले दबाबका लागि नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।