News

कञ्चनपुर घटनाबारे संसदमा ध्यानाकर्षण

कञ्चनपुर घटनाबारे संसदमा ध्यानाकर्षण
फागुन–२७ । व्यवस्थापिका–संसद्को शुक्रबार बसेकाे बैठकमा कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको सम्बन्धमा बैठकमा सबैजसो दलका सांसद्ले गम्भीर ध्यानाकर्षण गराउँदै निन्दा गराएका छन् । बैठकको विशेष र शून्य समयमा सार्वभौम मुलुकको भूमिमा प्रवेश गरेर हस्तक्षेप भएकाले भारत सरकारसँग कुटनीतिक माध्यमबाट संवाद गरी समाधान खोज्न सांसद्हरुले माग गरे । भारत सरकारले क्षमा माग्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अग्नि सापकोटाले नेपाल सानो मुलुक भए पनि यसको आफ्नै स्वाभिमान भएकाले राष्ट्रिय अस्मिताको रक्षामा सरकार पछि हट्न नहुने र भारतीय पक्षसँग स्पष्ट जवाफ माग्नुपर्ने बताए । उनले मृतक गौतमलाई योद्धा घोषणा गर्न पनि माग गरे । नेकपा (एमाले) का युवराज ज्ञवालीले कञ्चनपुर र सप्तरी घटनाबारे सरकारले सदनलाई सत्य तथ्य स्पष्ट पार्न ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचन नगराउन देशमा यस्ता घटना गराइएका त होइनन् भन्ने प्रश्न गरेका छन् । सोही पार्टीका केशवप्रसाद बडालले कञ्चनपुर घटनामा भारतीय पक्षले माफी माग्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले सिमानामा बस्ने नागरिक हरेक दिन भारतीय सुरक्षाकर्मीबाट प्रताडीत हुनुपरेको सन्दर्भमा सरकारले किन सुनुवाइ गर्दैन भनी प्रश्न गरे । नेपाली काँग्रेसका तारिणीदत्त चटौत, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापामगर, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चाका मीना पुन, सांसद्हरु रुक्मिणी चौधरी, श्यामकुमार श्रेष्ठ, गीता राणा, तेजुलाल चौधरीलगायतले सो विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

कञ्चनपुर घटना ध्यानाकर्षण संसद

विशेष