News

कञ्चनपुरमा भारतीय गोलीबाट मारिएका गौतमलाई शहीद घोषणा

कञ्चनपुरमा भारतीय गोलीबाट मारिएका गौतमलाई शहीद घोषणा
फागुन–२७ । कञ्चनपुरको सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई शहीद घोषणा गरिएको छ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई शहीद घोषणा गरेकाे बताएका हुन् । शहीद घोषणासँगै रु दश लाख राहतस्वरुप उपलब्ध गराउने, सन्ततिको लागि नि: शुल्क पठनपाठनको व्यवस्था गरिने र सम्मानपूर्वक अन्त्यष्टि गरिने जानकारी दिए । यही फागुन १० गते कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीचको सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गौतमको दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराए । उनले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताए । सोही विषयमा आफूले प्रधानमन्त्रीको निर्देशनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिए । यस्तै, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोर्होयाउन आग्रह गरेको र यहाँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि जानकारी दिए ।

कञ्चनपुर गोविन्द गौतम विमलेन्द्र निधि शहीद घोषणा

विशेष