News

जाजरकोट बस दुर्घटनाको उच्च स्तरीय छानबिन गर्न सरकारसँग माग

जाजरकोट बस दुर्घटनाको उच्च स्तरीय छानबिन गर्न सरकारसँग माग
दीपबहादुर घर्ती
फागुन - २७, जाजरकोट ।  जाजरकोटमा २६ जनाको ज्यान जानेगरी बिहीवार भएको बस दुर्घटनाको उच्च स्तरीय छानबीन गर्न जिल्लाबासीले सरकारसँग माग राखेका छन् । शुक्रवार प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकद्वारा निर्णय गरेर जिल्लाबासीले सरकारसँग यस्तो माग राखेका हुन् ।
पटक–पटक जिल्लामा भयानक बस दुर्घटना भैरहनुको मुख्य कारण पत्ता लगाई आगामी दिनमा दुर्घटना हुन नदिन उच्च स्तरीय छानबीन गर्न गृहमन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेको प्रजिअ पौडेलले बताए । बैठकले बीमा कम्पनीको रकम आउनुभन्दा अगावै बस ब्यबसायी समिति र बसका मालिकले प्रति मृतक परिवारलाई एक लाखका दरले हुन आउने रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्नु पर्ने, राहत स्वरुप बस ब्यबसायी समिति र बसका मालिकले प्रति पीडित परिवारलाई ५ लाखका दरले हुन आउने रकम तीन दिन भित्र बुझाई सक्नु पर्ने, उपचारको लागि घाईतेहरुको स्थिति हेरी १० हजारदेखि एक लाखसम्म गाडी मालिक र बस ब्यबसायी समितिले ब्यबस्था गर्नु पर्ने र निर्णय कार्यन्वयन गराउन नेपाल प्रहरीलाई जिम्मा लगाउने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।   साथै बैठकले मृतकको क्रिया खर्च बापत मृतकका आफन्तजनलाई जनही २५ हजारका दरले आजै रकम उपलब्ध गराउनु पर्ने निर्णय गरेको छ । बस दुर्घटनाको स्थानीयस्तरवाट नागरिक छानबिन गर्नका लागि नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पिडीत परिवार र बस ब्यबसायीवाट सदस्य रहने गरी ५ सदस्य छानबिन समिति गठन गरिएको छ ।
बैठकले फागुन २७ गतेलाई शोक दिवसका रुपमा मनाउने निर्णय गरेको छ । त्यसैगरी तत्काल दैविक उद्धारका लागि जिल्ला विकास समितिले तीन लाख रुपैया दिन स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले जानकारी दिए । पीडित परिवारले क्षेतिपुर्तिको माग गर्दै जिल्ला सदरमुकाम खलंगामा प्रदर्शन गरेका छन् भने, जिल्लामा यातायातका साधन तथा पसलहरु पुर्ण रुपमा बन्द गरिएको छ ।
भेरीगंगा यातायात व्यबसायी समितिद्धारा सञ्चालित ना ३ ख २२७९ नम्बरको यात्रु बहाक बस जिल्ला सदरमुकाम देखि साल्मा–५ खाराको लागि बिहिवार दिउसो ४ बजे खलंगावाट छुटेको थियो । खलंगादेखि तीन किलो मिटरको दुरीमा रहेको बोहराको मोडबाट पल्टिएर गाडी दुर्घटनामा परेको थियो । पुरानो, कन्डिसन राम्राे नभएको, क्षमताभन्दा बढी सवार बोकेको गाडीको स्ट्रीङ्ग र ब्रेक फेल भएर मोडवाट पल्टिएको हुन सक्ने प्रहरी नायव उपरिक्षक भावेश रिमालको भनाई रहेको छ । बस दुर्घटना चालकको लाप्रवाहीले पनि भएको हुन सक्ने धेरैले अनुमान गरेका छन् ।
६२ जना यात्रु बाकेको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने, ३६ जना घाईते भएका छन् । भीरवाट झण्डै २ सय मिटर तल बस खसेपछि ९ जनाको घटना स्थलमै ज्यान गएको थियो भने, १७ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । रुकुम चौरजहारी मिसन अस्पतालमा रहेका १७ जना घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले बिहीवार रातिनै उपचारका लागि नेपालगञ्ज पुर्याएको थियो । गाडी चालक सहित ५ जना घाईतेलाई बसद्वारा नै बिहिवार राति नेपालगञ्ज पुर्याइएको थियो ।
नेपालगञ्ज पुर्याइएका २२ जना घाइतेहरुको नेपालगञ्ज नर्सिङहोम र भेरी अस्पतालमा उपचार भैरहेको छ । नेपालगञ्ज उपचारमा रहेका २२ जना घाईतेहरु मध्ये तीन जनाको अबस्था चिन्ताजनक रहेको जनाईएको छ । ११ जना घाईतेहरुको रुकुम चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचार भैरहेको छ भने, ३ जना घाईतेको उपचार जिल्ला अस्पताल जाजरकोटमै भैरहेको छ ।
बस दुर्घटनामा परि मृत्यु हुनेहरुको नामावलीः
  • लहँ–४ का ३९ बर्षिय रामबहादुर बस्नेत,
  • साल्मा–५ का ५० बर्षिय नन्दलाल जैसी,
  • सिमा–९ का २१ बर्षिय मदन पुन,
  • भेरीमालिका नगरपालीका–१० का १३ बर्षिय सन्तोष राना,
  • भेनपा–११ का २७ बर्षिय गोपाल सुनार,
  • भेनपा–११ कि २८ बर्षिय सर्मिला सुनार,
  • भेनपा–४ का २५ बर्षिय गणेश बोहरा,
  • भेनपा–४ का २१ बर्षिय नबिन चन्द,
  • भेनपा–३ कि २६ बर्षिय शान्ता सुनार,
  • दशेरा–१ का २८ बर्षिय दिलबहादुर वुढा,
  • रुकुम चौरजहारी–४ का ५८ बर्षिय कृष्ण गिरी,
  • दशेरा–२ का २९ बर्षिय मनिराम जैसी,
  • भेनपा–१२ का ५४ बर्षिय बहादुर भण्डारी,
  • मजकोट–७ का दले तिरुवा,
  • भेनपा–१३ की ४२ बर्षिय हिउसरा गिरी,
  • सल्यान सुईकोटका उदय वुढा,
  • भेनपा–११ की गोप्ली सुनार,
  • पजारु–८ का ४८ बर्षिय नैन दमाई,
  • भेनपा–८ का चैते खत्री,
  • जुगाथापाचौर–५ का भरत विसी,
  • गर्खाकोट–४ का ५६ बर्षिय हरिबहादुर शाही,
  • साल्मा–५ का आईते कामी,
  • साल्मा–५ का जिते कामी,
  • मजकोट–७ की लालसरी तिरुवा,
  • मजकोट–७ की कल्दरी चदारा र 
  • मजकोट–७ का कालु तिरुवा

बस दुर्घटनामा परि घाईते हुनेहरुको नामावलीः
  • भेनपा–११ का लक्ष्मी हमाल,
  • भेनपा–१३ का प्रताव गिरी,
  • भेनपा–११ का पुनम सुनार,
  • भेनपा–१३ का टिकाराम रावत,
  • सिमा–४ का मानबहादुर थापा,
  • भेनपा–११ का दिनेश विक,
  • भेनपा–१३ का सुजन गिरी,
  • भेनपा–९ का निलबहादुर राना,
  • भेनपा–११ का सन्तोष मल्ल,
  • मजकोट–७ का तुले तिरुवा,
  • दशेरा–३ का सुरेन्द्र थापा,
  • सुवानाउली–७ की जैसरा रावत,
  • रुकुम चौरजहारी–१ का दत्तु गिरी,
  • साल्मा–५ का बुदे कामी,
  • भेनपा–३ का मनसुने सुनारका नावालक छोरा पृथ्वी सुनार,
  • नाम नखुलेका अर्का एक नावालक बच्चा,
  • भेनपा–११ का रामबहादुर गन्धर्भ,
  • सिमा–९ का टेकेन्द्र पुन,
  • सिमा–४ का चुकिलाल नेगी,
  • भेनपा–४ का टोपबहादुर चन्द (गाडी चालक),
  • भेनपा–१० का लक्ष्मण राना,
  • सिमा–२ का चन्द्र बहादुर घर्ती,
  • कार्कीगाउँ–७ का प्रशाद नेपाली,
  • भेनपा–११ कि हरिकला परियार,
  • पजारु–८ की डिला दमाई,
  • भेनपा–११ का विमल परियार,
  • भेनपा–१३ का टेक वटाला,
  • भेनपा–८ का तुले कठायत,
  • मजकोट–७ की गोरी तिरुवा,
  • सिमा–३ का कर्ण बादी,
  • भेनपा– १२ का चन्द्रबहादुर भारती,
  • दह–९ कि गौरी शाही,
  • भेनपा– ११ कि नैनसरा वुढा,
  • कार्कीगाउ–३ विनाकुमारी खत्री,
  • भेनपा–११ का तुलवीर पुन र
  • दह–९ की पानसरा शाही

Jajarkot Jajarkot Accident

विशेष