काठमाडौं कसरी भयो धुलमाडौं, यसरी निम्त्याउँछ धुलोले घातक रोगहरु
‘राजधानीमा भइरहेको धुलो र धुवाको मुख्य कारण के त ?’ सबैको उत्तर लगभग एउटै छ –‘मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार कार्य ।’ तर, यो एउटा कारण मात्र पर्याप्त कारण हैन । यातायात विभाग, सडक विभाग, वातावरण मन्त्रालयलगायतका निकायले जिम्मेवारीपूर्ण काम नगर्दिनाले उपत्यकामा धुलो र धुवा बढेको हो । पुर्वाधार निर्माण कार्य समयमै नसकिदा उपत्यकाबासी प्रदूषित वातावरणमा बस्न बाध्य बनेका छन् । मेलम्ची खानेपानीको पाइपलाइन विस्तार, भूकम्पपछिको पुनर्निर्माण तथा बाटो विस्तारका कारण वातावरण धुलामे बनेपछि उपत्यकाबासी वायु प्रदूषणमा बस्न बाध्य भएका हुन् । निर्माणमा सक्रिय सरकारी निकायबीच सहकार्य नहुँदा एउटा निकायले सडक निर्माण पूरा गरिसकेपछि अर्को निकायले भत्काउन थालिहाल्ने गरेको छ । अन्तर निकायबीच समन्वयका अभावमा भएका यस्तै लथालिंगे विकासले राजधानीबासी हैरान भएका छन् । ७२ साल बैशाखको विनाशकारी भूकम्पपछिको पुनर्निमाण कार्यले गर्दा पनि वायु प्रदूषण बढेको हो । वायु प्रदूषणको सिकार भएर विभिन्न रोग पाल्न बाध्य भएका छन् उपत्यका बासी । सर्वसाधरण धुलो छल्न मास्क, मफलर, फेटा र पट्टी प्रयोग गर्ने गरेपनि धुलाका मसिना कण हावासँगै फेलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरु बताउँछन् । प्रदूषित हावाका कारण फोक्सोलगायतका विरामी भई धेरै राजधानी बासी अस्पताल धाउन बाध्य छन् । वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको तथ्यांकअनुसार धुँवा र धूलोमा २.५ पीएमभन्दा साना आकारका कणहरु प्रत्यक्ष रुपमा मानिसको फोक्सोमा पुग्ने गरेको छ । हाल उपत्यकामा सवारी साधनको धुँवा, सडकको धूलो र इँटाभट्टालगायतले प्रदुषण गरिरहेको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड सूचकको तथ्याङ्कअनुसार राजधानीको प्रदूषण ह्वात्तै बढेको छ । मेलम्ची खानेपानी विस्तारकै कारण उपत्याकामा प्रदुषण वढेको भन्दै मेलम्जी खानेपानी आयोजनालाई धुलो नियन्त्रण गर्न सर्वोच्च अदालतले गत हप्ता आदेश दियो । तर, अदालतको आदेशलाई बेवास्था गर्दै आयोजनाले सुस्त गतिमा आफ्नो काम अगाडि बढाइरहेको छ । पाइपलाईन बिस्तारके ठेक्का पाएको कम्पनी जेटीआइटिएफ वाटर इन्डियाले पनि उक्त कामको ठेक्का पेटी ठेक्केदार बिकोई कम्पनीलाई दिएको छ । त्यस्तै कलंकी कोटेश्वर सडक विस्तारले यात्रा असहज बनेको छ भने चाहविल, गौशाला, बानेश्वर, चक्रपथ क्षेत्रतिर पनि उस्तै धुलो उडिरहेको छ । के गर्छ धुलोले
एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट ९२ पटकसम्म सास फेर्छ । त्यसक्रममा लगभग ६ लिटर अक्सिजन हाम्रो शरीरले ग्रहण गर्ने गर्दछ । बिभिन्न अनुसन्धानहरुले पत्ता लगाएअनुसार खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिई २–३ दिनसम्म बाँच्न सक्छ । तर, हावाबिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ । अहिले काठमाडौंमा मुख्य त धुलोको समस्या टड्कारो देखिन्छ । प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर भइरहेको मुटुरोग बिशेषज्ञ डाक्टर रोशन राउत बताउछन् । हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेकन कण हुन्छन् । तीमध्ये केही हानिकारक हुन्छन् त केही हानी नगर्ने किसिमका पनि हुन्छन् । विश्वभरी नै प्रदुषणलाई मापन गर्ने अनेकौ सस्थाहरु छन् । डब्लुएचओका अनुसार विश्वका २९ सय ७३ प्रदूषित सहरमध्ये काठमाडौं २६९ औं नम्बरमा छ । २०१६ को तथ्यांकअनुसार नेपालमा वार्षिक ९ हजार ९४३ को वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ । उपत्यकाको धुलोले स्वास्थ्यमा त गम्भीर असर गरेको छ नै अर्थतन्त्रमा पनि यसको असर नकरात्मक छ । विश्व बैंकको २०१६ को अध्ययनले वायु प्रदूषणका कारण नेपालमा २.८३८ अर्ब डलर अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४.७ प्रतिशतले अर्थतन्त्रमा ह्रास पु¥याएको छ । नेपालको राष्ट्रिय मापदण्डले ५० भन्दा कम माइक्रोग्राम परमिटर क्यू सुक्ष्म कणहरू हुनुपर्छ भनेको छ । तर, रत्नपार्कस्थित प्रदूषण मापन केन्द्रको तथ्यांकले दैनिकजसो प्रदुषणको मात्रा राष्ट्रिय मापदण्डभन्दा २ गुणा बढी देखाएको छ । अहिले दैनिकजसो प्रदुषण मापन केन्द्रमा ११६ देखि १२० माइक्रोग्राम परमिटर क्यू देखाएको छ । मापदण्डअनुसार बाटोमा धुलोको मात्रा बढीमा २३० माइक्रोग्राम परमिटर क्यूभन्दा नबढाउने भनिएको छ । तर, रत्नपार्कको मापन केन्द्रको तथ्यांकअनुसार अधिकतम ४०२ माइक्रोग्राम परमिटर क्यू पुगेको छ । यातायात विभागको पछिल्लो तथ्याकंअनुसार काठमाडौंमा सबैभन्दा बढी प्रदूषण सवारी साधनहरूले गराइरहेका छन् । प्रदुषण गराउनेमा ९० प्रतिशत निजी, ३ प्रतिशत सार्वजनिक र ७ प्रतिशत अन्य सवारी साधन छन् । वातावरण मन्त्रालयले सन् २००६ मा धुलो धुवासम्बन्धी एउटा अध्ययन गरेको थियो । उक्त अध्ययनले सबैभन्दा बढी सवारीसाधनले काठमाडौंलाई प्रभाव पारेको देखाएको थियो । पछिल्लो समय त्यस्तो अध्ययन हुन सकेको छैन । धुलो कम गर्न के हुँदैछ
धुलो कम गर्न वातावरण विभागसँग समन्वय गरेर काम गरिरहेको काठमाडौं महानगरपालिकाको प्रमुख ईश्वरी पौडेलले बताए । उनका अनुसार महानगरपालिकाले सडक तथा फुटपाथको फोहोर सफा गर्ने सडकमा पानी छ्याप्ने काम गरिरहेको छ । वातावरण विभागका प्रमुख रविमान श्रेष्ठको अनुसार प्रदूषण कम गर्न विभागले विभिन्न काम गरिरहेको छ । उनले भने, ‘विभागको समन्वयमा सडकमा ५ वडा गाडीले धुलो कम गर्न पानी हालेको छ । धुलाकै लागि सडकमा एउटा ड्रुमर चलाएको छ ।’ श्रेष्ठको अनुसार विभागले धुलो बढी हुने क्षेत्रमा अनुगमन गरेर धुलो कम गर्न पहल गरेको छ । सडक विस्तारका कामहरु, काटो पीच गर्ने काम दु्रत गतीमा भइरहेकाले अबको केही महिनामै धुलो कम हुने श्रेष्ठ बताउछन् । उनी भन्छन्– ‘हामीले महानगरपालिका, सडक विभाग र यातायात विभागसँग समन्वय गरेर काम गरेपछि धुलोको मात्रा कम भएको छ । फेरि पानी परेकाले अब धुलो धेरै कम हुन्छ । खानेपानी संस्थानले पनि धुलो नियन्त्रणको लागि पहल गर्दैछ ।’
धुलो नियन्त्रण कसरी गर्ने ? उपत्यकामा धुलो बढेपछि यसको नियन्त्रणको लागि विभिन्न संघसस्था तथा युवाहरुले धुलो नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु गरे । तर, ती कार्यक्रमहरु त्यती प्रभावकारी भने भएन् । धुलो नियन्त्रणका लागि बढी धुलो उड्ने ठाउँमा अनुगमनमा जोड दिएर त्यस्को समाधानमा लाग्दा धुलो कम हुने धेरैको विश्वास छ । विभिन्न पुर्वाधार निमार्ण गर्ने कम्पनीहरुबीच राम्रो समन्वय नहुदाँ धुलो बढेको सरोकारवाला निकायहरुले बताएका छन् । यी विभिन्न सस्थाहरुबीच समन्वय भएर काम भयो भने धुलो धेरै हदसम्म नियन्त्रण हुने देखिन्छ । विभिन्न संघसस्थाले गरेको अनुसन्धानले देखाए अनुसार सडक निर्माणमा वातावरणीय असर नपुग्ने गरी काम गर्दा धुलो कम हुन्छ । सडकमा जथाभावी फोहोर नफाल्ने र नजलाउने हो भने धेरै प्रदूषण कम हुने देखिएको छ । त्यसैगरि सवारी साधन व्यवस्थापन र सुधारिएको इँटाभट्टा सञ्चालनमा आउने हो भने प्रदुषण हुन कम हुन्छ । नीति नियम बनाएर कडाइका साथ पालना गर्ने र जनचेतना अभिवृद्धि गर्ने हो भने प्रदुषण कम गर्न सकिन्छ । किनकि, धेरैजसो प्रदुषण मानविय क्रियाकलापबाट नै भएको छ ।
प्रस्तुतिः सागर बुढाथाेकी Dhulo Ra Dhuwa kathmandu Kathmandu Nepal Khane Pani