चट्याङ पर्दा १४५ मेगावाट विद्युत् आयात अवरुद्ध
फागुन - २८ । नेपाल आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १४५ मेगावाट विद्युत् आयात अवरुद्ध भएको छ ।
ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणलाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मुजफ्फरपुरतर्फको लाइटिङ एरेस्टर बिग्रिएर समस्या पैदा भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको जानकारी दिए । प्रसारणलाइनमा परेको समस्या समाधानका लागि प्रयास भइरहेको उनको भनाइ छ ।
मुलुकभित्रै नदीमा पानी बढेको र उत्पादन पनि बढेका कारण विद्युत् आपूर्तिमा कुनैपनि समस्या नआउने प्राधिकरणको भनाइ छ ।हावाहुरीका कारण मुलुकका अन्य स्थानमासमेत विद्युत् प्रसारणमा समस्या पैदा भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरी र चट्याङका कारण आपूर्तिमा समस्या भएका कारण प्राविधिक टोलीले काम गरिरहेको छ । सिंहदरबार आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।
शनिबार भएपनि विद्युत् आपूर्ति नियमित बनाउनका लागि हरप्रकारको प्रयास भइरहेको र उल्लेख्य मात्रामा प्राविधिक टोली परिचालन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । लामो समयपछि पानी परेका कारण प्रसारणलाइन तथा इन्सुलेटरलगायतमा समस्या पैदा भएको छ ।
तर, जलसतह बढेका कारण आन्तरिक उत्पादन बढेको तथा सन्चालनमा रहेका आयोजनाबाट उल्लेख्य मात्रामा विद्युत् उत्पादन भएका कारण आपूर्तिमा कुनैपनि समस्या नरहेको प्रवक्ता अधिकारीको भनाइ छ । रासस
Electricity
विद्युत्