News

मेनपावर सन्चालकको अपहरण गरी लुटपाट गर्ने दुई प्रहरीसहित चारजना पक्राउ

मेनपावर सन्चालकको अपहरण गरी लुटपाट गर्ने दुई प्रहरीसहित चारजना पक्राउ
चैत ४ । मेनपावर सन्चालकको अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल प्रहरीका दुई नायब निरीक्षकसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अञ्चल सशस्त्र प्रहरी गुल्म मेची दरबन्दी भइ अपराध महाशाखाअन्तर्गत् महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत् प्रहरी नायब निरीक्षक सम्वत तामाङ, प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भइ महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत् प्रहरी नायब निरीक्षक सूर्यबहादुर थापा, रुपन्देही, देवदह घर भइ हाल ललितपुर इमाडोलमा बस्ने कुमार भन्ने राजकुमार गुरुङ र काभ्रे शिखरआम्बोटे गाविसका अर्जुनबहादुर लामा रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । धनकुटा घर भइ धुम्बाराहीस्थित टाइगर ओभरसिज प्रालि सन्चालन गर्दै आएका बद्री राईलाई गत माघ १ गते कोटेश्वरमा बोलाई राजकुमार गुरुङसहितका व्यक्तिले जबर्जस्ती अपहरण गरी सिनामंगलस्थित बाजेको सेकुवा कर्नर रहेको घरको कोठामा लगी बन्धक बनाएर डर, त्रासमा पारी उनको साथमा रहेको नगद रु दुई लाख ३० हजार लुट्नुका साथै नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको दुईरदुईओटा गरी चारओटा चेकमा रु २५ लाखकादरले जम्मा एक करोडको चेकमा हस्ताक्षर गराएका थिए । प्रहरी नायब निरीक्षक तामाङ, गुरुङ र धीरजगुरुङसमेतको नाममा ती चेक काट्नुका साथै उनीहरुले ल्याएको तमसुक कागजमा पीडितबाट सहीछाप गराइ लिइ राति अपहरणमुक्त गरेका थिए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीकाअनुसार प्रारम्भिक अनुसन्धानमा अवैधरुपमा ल्याइएको सुन लुटिएको र त्यसमा मेनपावर सन्चालक बद्री राईनिकट फुर्पा शेर्पाको हात रहेको सूचनाका आधारमा ती दुई प्रहरीले भागबन्डा मिलाउन राईलाई अपहरण गरेको हुनसक्ने देखिएको छ । उनले भने–‘लुटिएको सुनबारे सूचना पाएपछि प्रहरी कार्यालयलाई थाहा नदिएर उनीहरु त्यो लुटिएको सुनको भाग खोज्दै मिलीजुली खाने दाउमा लागेको देखिन्छ ।’ अनुसन्धान जारी रहेको र मेनपावर सन्चालकको सुन लुटपाटको घटनामा संलग्नताबारे केही नखुलेको उनले बताए । महाशाखाबाट प्रहरी नायब उपरीक्षक अजय केसीको नेतृत्वको टोलीले घटनामा संलग्न चारजनालाई विभिन्न स्थानबाट गत मंगलबार पक्राउ गरी बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

Apaharan

विशेष