News

मतदान केन्द्रमा सहमति नहुँदा सिफारिश हुन सकेन

मतदान केन्द्रमा सहमति नहुँदा सिफारिश हुन सकेन
चैत ४ । मतदान केन्द्र निर्धारणका विषयमा राजनीतिक दलबीच सहमति हुन नसक्दा बैतडीमा मतदान केन्द्र सिफारिस गर्न सकिएको छैन । दलले विसं २०७० मा तय भएका मतदान केन्द्र बदल्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए । दलका प्रतिनिधिले २०७० सालको भन्दा १० वटा केन्द्र थप्नसमेत माग गरेका छन् । मतदान केन्द्र सिफारिस समितिको बैठकमा ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतदान केन्द्र परिवर्तनको माग गरेको जिल्ला निर्वाचन अधिकारी फुँयालले भने, “डिलासैनी गाउँपालिका, पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा मतदान केन्द्र साबिकको भन्दा परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।” “तर निर्वाचन आयोगले अवस्था हेरेर दुई–चारवटा मतदान केन्द्र मात्र थप्न भनी निर्देशन दिएको छ”, उनले भने । विवाद देखिएका ठाउँमा स्थलगत अध्ययन गरी मतदान केन्द्र सिफारिस समितिको बैठक बसी टुंगो लगाउने उनले जानकारी दिए । बैतडीमा विसं २०७० मा संविधानसभाको निर्वाचनमा रहेका एकसय २० मतदान केन्द्रको एकसय ८८ स्थल तय गरिएका थिए । स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपािलका र ६ गाउँपालिका सिफारिस गरेको छ । जिल्लामा ६५ हजार नौसय ३२ महिला, ६२ हजार आठसय ५० पुरुष र एकजना तेस्रोलिंगी गरी एक लाख २८ हजार सात सय ८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् ।

election

विशेष