अस्ट्रेलियाली विमानकाे आकाशमै प्रोपेलर छुट्टियो, विमानको सुरक्षित अवतरण
चैत्र–५ । अस्ट्रेलियामा एक विमान दुर्घटनाबाट बचेर सुरक्षित अवतरण गर्न सफल भएको छ । विमानको एक पट्टीको दुईवटा प्रोपेलर सिड्नी विमानस्थलभन्दा २० किमी टाढा आकाशमै छुट्टिएको नागरिक उड्डयन सुरक्षा प्राधिकरणका वक्ता पिटर गिब्सनले बताए ।
उक्त विमानमा १६ जना यात्रु र ३ जना चालक दल रहेका थिए । प्रोपेलर विमानबाट छुट्टिए पनि विमान सञ्चालनमा भने खासै बाधा नभएको एक पाइलटले रेडियो कलबाट बताएका थिए । प्राधिकरणका वक्ता गिब्सनले भने,‘विमानमा यस्तो खराबी एकदमै कम रुपमा हुन्छ । यध्यपि यो सामान्य खराबी होइन ।’
विमानले सिड्नीभन्दा ५०० किमी टाढा अल्बरीबाट यात्रु बोकेर उडेको थियो । विमानबाट छुट्टिएपछि पनि तीव्र रुपमा गुमिरहेको उक्त प्रोपेलरले विमानको पखेटामा क्षति पुग्ने गरि नछोएको कारण विमान ठुलो दुर्घटनाबाट बचेको गिब्सनले बताए ।
उक्त विमानका एक पाइलटले प्यान प्यान कल (तत्कालीन सहायता नभई विमानस्थलबाट चाहिने मद्दत) गरेर विमानलाई सुरक्षित र समयमै विमानस्थलमा अवतरण गराएका थिए ।
कसैले पनि उक्त प्रोपेलर फेला पारेमा त्यसलाई नचलाई प्रहरीलाई खबर गरिदिन अस्ट्रेलियाली परिवहन सुरक्षा ब्यूरोले अस्ट्रेलियाली नागरिकलाई आग्रह गरेको छ ।
अस्ट्रेलिया
प्रोपेलर
विमान