News

'अहिले तोकिएका स्थानीय तहका केन्द्र स्थायी होइनन्'

'अहिले तोकिएका स्थानीय तहका केन्द्र स्थायी होइनन्'
चैत - ५ । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अहिले तोकिएका स्थानीय तहका केन्द्रहरु स्थायी नभएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार आयोजित पौडेल बन्धु समाजको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पौडेलले तत्काल स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता भएकाले सहजताका लागि केन्द्र तोकिएको बताए । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको बहुमतको आधारमा स्थायीरुपमा केन्द्र तोक्न सकिने संविधानमा उल्लेख भएकाले अहिले नै अन्तिम हो कि भनेर आन्दोलन गर्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो । ‘निर्वाचन नजिकै आइसक्यो, अब पनि केन्द्र तोकेर काम नगर्ने हो भने निर्वाचन पछि धकेलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि स्थानीय तहका लागि केन्द्र तोकिएको हो’–पौडेलले भने । मुलुकका अधिकांंश ठाउँका बासिन्दालाई पायकपर्ने ठाउँमै केन्द्र राखिएका र एकाध ठाउँमा समस्या भएमा निर्वाचनपछि नयाँ व्यवस्था गर्न सकिने मार्गप्रशस्त रहेको उनले बताए ।
पौडेलविरुद्ध कालोझन्डा प्रदर्शन कार्यक्रमको सिलसिलामा गृहजिल्ला पर्वत आएका अध्यक्ष पौडेललाई केन्द्र अपायक बनाइदिएको भन्दै जलजला गाउँपालिकाका बासिन्दाले कालोझन्डा देखाएका छन् । उनीहरुले कार्यक्रमस्थलबाहिर कालोझन्डासहित पौडेलविरुद्ध नाराबाजी गरेका थिए । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोकमा राखिनुपर्नेमा साविकको माझफाँट गाविसको कार्यालयलाई तोकिएको भन्दै स्थानीयले केहि दिनदेखि आन्दोलन गर्दै आएका थिए ।

विशेष