News

कञ्चनपुर घटना नियाेजित, भारतले गाेली चलाउनुपर्ने कारण छैन -राज्यसभा सदस्य सिंह

कञ्चनपुर घटना नियाेजित, भारतले गाेली चलाउनुपर्ने कारण छैन -राज्यसभा सदस्य सिंह
चैत्र–६ । भारतको भारतीय जनता पार्टीका राज्यसभा सदस्य गोपालनारायण सिंहले कञ्चनपुर घटना नेपाल–भारतको सम्बन्ध बिगार्न चाहने असामाजिक तत्वले घटाएको हुनसक्ने बताएका छन् । आर्इतबार राजधानीमा यही चैत २८ देखि वैशाख ४ गतेसम्म भारतको हरिहरनाथदेखि मुक्तिनाथसम्म सांस्कृतिक यात्रा–२०१७ का लागि नेपाल आइपुगेका नेता सिंहले नेपालसँग भारतले गोली चलाउनुपर्ने कुनै कारण नभएकाले कसैले नियोजितरुपमा गरेको हुनसक्ने बताएका हुन् । नेता सिंहले कञ्चनपुर सीमामा घटेको घटनाको नेपाल र भारत दुवैतर्फबाट निष्पक्ष छानबिन हुनुपर्ने बताए । घटनाको छानबिन गर्नका लागि नेपालले औपचारिकरुपमा भारतीय सरकारलाई आग्रह गर्नुपर्ने उनको भनाइ थियो । सांस्कृतिक यात्राकाबारेमा नेता सिंहले नेपाल–भारत सांस्कृतिक, धार्मिक र रीतिरीवाजमा समान भएकाले नेपालको सांस्कृतिक विकासमा मिलेर अघि बढ्नुपर्ने बताए । सांस्कृतिक यात्राले नेपालका धार्मिकस्थल अझ प्रचार हुने र दुवै देशको सम्बन्ध अझ प्रगाढ हुने उनले बताए। सांस्कृतिक यात्रा व्यवस्थापन समितिका सदस्य तथा नेपाल जनता पार्टीका महासचिव खिमनाथ आचार्यले सबै तीर्थ गरिसकेपछि मोक्षप्राप्तिका लागि मुक्तिनाथ पुग्नैपर्ने परापूर्वकालीन परम्परा रहँदै आएकाले त्यसलाई निरन्तरता दिन सांस्कृतिक यात्रा अभियान थालिएको बताए । विश्व हिन्दू परिषद् नेपाल, नेपाल जनता पार्टी र भारतस्थित धर्म जागरण परिषद्को संयुक्त पहलमा उक्त सांस्कृतिक यात्राको आयोजना हुन लागेको हो । रासस

कञ्चनपुर घटना गोपालनारायण सिंह निष्पक्ष छानबिन

विशेष