विदेश

पेरुमा भिषण बाढी ७२ जनाको मृत्यु

पेरुमा भिषण बाढी ७२ जनाको मृत्यु

चैत्र ७ । पेरुमा भारी वर्षापछिको बाढी र पहिरो करिब दुई दशकयताको भीषण रहेको जनाइएको छ ।

पेरुको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी हालसम्म ७२ जनाको मृत्यु भएको पेरुका प्रधान मन्त्री फेर्नान्डो जभालाले पुष्टि गरेका छन् ।

भीषण वर्षापछि यहाँको मौसमलाई हाल ‘कोस्टल निनो’ नाम दिइएको छ । समुद्रको तापक्रम धेरै भएर कोस्टल निनो भएको राष्ट्रिय जलवायु अनुगमन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समुद्रमा अहिले २२ डिग्रीदेखि २७ डिग्रीसम्म तापक्रम रहेको छ ।

बाढीमा परेर हजारौं नागरिक घरवारविहीन भएको अधिकारीले जानकारी दिएका छन् । सरकारले देशका १३ क्षेत्रका ७ सय ५० नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सन् १९९८ मा पनि पेरुमा यस अवधिका आएको भीषण वर्षालगायतको बाढी पहिरोमा परी ३ सय ७४ व्यक्तिको मृत्यु भएको थियो । यस प्रकोपको कारण धेरै क्षति भएको यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको राष्ट्रपति पेड्रो पाब्लो कुक्जीन्सकिले बताएका छन् । बाढी पहिरोका कारण झण्डै १५ करोड अमेरिकी डलरदेखि ६० करोड डलरसम्म क्षति भएको सरकारले अनुमान गरेको छ ।

लिमामा मार्च २० सम्मका लागि विद्यालय बन्द गरिएको छ भने २७ जिल्लामा पानी वितरण समिति गठन गरिएको छ । यस प्राकृतिक प्रकोपको अवस्थामा पेरुलाई सहयोग गर्न चिली, बोलिभिया, भेनेजुएला र कोलोम्बियाका राष्ट्रपतिहरूले प्रस्ताव गरेका छन् ।

Peru Strom

विशेष