News

काठमाडाैं उपत्यकामा ट्राफिक व्यवस्थापन जटिल बन्दै

काठमाडाैं उपत्यकामा ट्राफिक व्यवस्थापन जटिल बन्दै
चैत्र–७ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारीचाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापनकार्य जटिल एवं चुनौतीपूर्ण बन्दै गएको हो । काठमाडौं उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकामा वि.सं. १९५८ सालमा राणाहरुले छिमेकीमुलुक भारतदेखि भीमफेदी हुँदै सवारी–साधन बोकाएर काठमाडौं ल्याएका भएपनि सर्वसाधारणले भने वि.सं. १९७० को दशकबाटमात्र सवारी–साधनको प्रयोग गर्न पाएका थिए । काठमाडौं उपत्यकाको जनसंख्या वृद्धिसँगै सवारी–साधनको संख्या पनि अत्यधिकरुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे हाल काठमाडौं उपत्यकामा करिब ११ लाखको हाराहारीमा सवारी–साधन रहेको बताउँछन् । उनी भन्छन्–‘वार्षिक एक लाखको हाराहारीमा काठमाडौं उपत्यकामा सवारी–साधन भित्रिन्छन् ।’ वि.सं. २००४ देखि सवारी–साधन दर्ता प्रक्रिया सुरु भएपनि २००७ सालबाटमात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो । कम बाटो र सीमित सवारी–साधनका कारण २०१२ सालमा केन्द्रीय ट्राफिक कम्पनीकारुपमा १२५ को संख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक कार्यरत् रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनी भन्छन्–‘सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नुका साथै यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा समस्या उत्पन्न भएको हो ।’ घिमिरे काठमाडौंमा सवारी–साधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यकपर्ने बताउँछन् । अहिले एक हजार ८५ जनाको दरबन्दी महाशाखामा भएपनि देशभरबाट तालिममा आएका ट्राफिकलाईसमेत काममा खटाउनुपर्ने बाध्यता छ । काठमाडौं उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सन्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारी–साधन रोकिनुपर्ने हुन्छ । केन्द्रीय ट्राफिक कम्पनीकारुपमा रहेको महाशाखा २०४९ सालमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकारुपमा रहेको थियो । वि.सं. २०४९ सालमा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय २०६३ सालमा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाकारुपमा स्थापना भएको हो । वि.सं. २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौं उपत्यकामामात्र ३५ स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ । हाल एकजना ट्राफिकले दैनिक ८ घन्टादेखि १४ घन्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ । महाशाखाले काठमाडौं उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक संगठन परिवर्तन गर्दै लैजानु, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा बताउँछन् । काठमाडौं उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भएपनि सवारी–साधन ओहोर–दोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको लामाले बताए । हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादकपदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको छ । ट्राफिकले आफू चढेको सवारी–साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामरा, ड्रोन क्यामरामार्फत् सवारी–साधन व्यवस्थापन गर्दै आएको छ । सवारी–साधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै जाने महाशाखाले जनाएको छ । रासस  

काठमाडौं उपत्यका जटिल ट्राफिक व्यवस्थापन

विशेष