प्रवास विदेश

मंगली तामाङको घर कहिल्यै बिर्सने छैन् : राजकुमार ह्यारी

मंगली तामाङको घर कहिल्यै बिर्सने छैन् : राजकुमार ह्यारी
चैत्र ८ । ब्रिटिश राजकुमार ह्यारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको भन्दै पर्यटकहरुलाई नेपालको भ्रमण गर्न सुझाव दिएका छन् । गत वर्ष नेपालको भ्रमण गरेका र अफगानिस्तानमा गोर्खा सैनिकहरुसंगै बसेका राजकुमार ह्यारीले गोर्खालीहरुको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गरे । नेपाल ब्रिटेनबीच संबन्ध कायम भएको दुईसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा सोमबार सहभागी भएका बेला राजकुमार ह्यारीले उक्त अभिव्यक्ति दिएका हुन् । भव्य स्वागत नेपाल ब्रिटेनबीच सम्बन्ध कायम भएको दुईसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन राजकुमार ह्यारी दूतावास प्रांगणमा पुग्दा उनको भव्य स्वागत गरिएको थियो । सो कार्यक्रमलाई संबोधन गर्दै उनले ठिक एक वर्ष अघि आफु नेपाल पुगेको स्मरण गरे । “ठिक एक वर्ष अघि मैले नेपाल भ्रमण गर्ने मौका पाएको थिएँ । मैले भेटेका सबैजनाले मलाई दिनुभएको न्यानो स्वागत र आतिथ्य, खासगरी मँगली तामाङ र उहाँको परिवार जसको घरमा म बसें, त्यो मैले कहिल्यै बिर्सने छैन,“ उनले भने । पुनर्निर्माणमा सहयोग भूकम्प गएको झण्डै एक वर्ष पछि नेपाल पुगेका राजकुमार ह्यारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउँमा गाउँलेहरुसंगै ढुँगा र माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए । बर्दिया राष्ट्रिय निकुन्जको पनि भ्रमण गरेका राजकुमार ह्यारीले सो निकुन्ज समुदायलाई सशक्त बनाएर कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुराको संसारमै एक उदाहरण भएको बताए । विध्वंशकारी भूकम्प पछि ब्रिटिश तथा अन्य निकायहरुको सहयोगबाट नेपालमा गरिएको राहत कार्यको प्रशंसा गर्दै राजकुमार ह्यारीले पुनर्निर्माणको काममा समय लाग्ने बताए । उनले नेपालको पुनर्निर्माणको यात्रामा ब्रिटिश जनताको साथ रहने पनि बताए । गोर्खा सम्बन्ध राजकुमार ह्यारीले गोर्खा सैनिकहरुसंगको सम्बन्धलाई प्रशंसा गरे । गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट आफुले खुशी र गर्व महसुस गर्ने गरेको बताउँदै राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ समर्पण र व्यावसायिकता उदाहरणीय रहेको बताए । ब्रिटेनमा गोर्खालीहरुप्रति उच्च सम्मान रहेको कुरा दुई वर्ष अघिको भूकम्पपछि चलाइएको सहयोग संकलन अभियानमा ब्रिटिश जनताले देखाएको सहभागिताबाट प्रष्ट भएको उनले उल्लेख गरे । राजकुमार ह्यारीले आउँदा कैयौं शताब्दीहरुसम्म नेपाल र ब्रिटेनबिच निकट सम्बन्ध तथा मित्रता कायम रहने र आफुले पोहोर साल लगाएको टिका मेटिन नपाउँदै फेरि नेपाल पुग्ने आफ्नो इच्छा रहेको पनि उनले बताए । सोही कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालको विकासमा ब्रिटेनले पुर्याएको सहयोगको प्रशंसा गरेका थिए । ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा ब्रिटेनको सम्बन्ध जनस्तरमा पनि सुदृढ भैरहेको बताउँदै दुई देशबिचको सम्बन्ध ऐतिहासिक र अनुपम रहेको जनाएका थिए । फोटो, चित्रकला, खाना तथा पुस्तक प्रदर्शनी, द्वीपक्षीय सम्बन्ध तथा नेपालमा लगानी विषयक अन्तरकृया लगायतका कार्यक्रमहरुका साथ समापन समारोहमा विभिन्न सांगीतिक प्रस्तुती अनि ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरुको खुकुरी नाच पनि प्रदर्शन गरिएका थिए । बिबिसी नेपाली

prince harry

विशेष