एनसेल प्रकरणः ‘प्रचण्ड सरकार नेपाली जनताको कि, एनसेल मालिकको ?’ (भिडियोसहित)
निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी पुँजीगत लाभकर नबुझाएको विरोधमा मंगलबार काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ । सार्वजानिक सस्था कर्मचारी संगठन नेपालले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै बिरोध कार्यक्रम गरेको हो । विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियूका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरैले राज्यलाई कर तिर्ने दायित्वबाट कुनै पनि संस्थाले उन्मुक्ति नपाउने तर्क गरे । ‘एउटा पियन सरहको कर्मचारीले कर तिर्नुपर्छ, मजदुरले कर तिर्नुपर्छ, हामिले प्रयोग गर्ने हरेक सामानमा कर जोडिएर आएको हुन्छ ।’ उनले भने –‘तर, एनसेलले कर तिर्दैन । सरकारले एनसेलले कर तिर्नुनपर्ने निर्णय गर्यो । यो सरकार नेपाली जनताको हो की, एनसेल मालिकको ?’
विरोध कार्यक्रमपछि नेपाल आजसंग कुरा गर्दै गैरेले एनसेलले कर नतिर्ने कारण छानविन गरेर कारबाही गर्नुपर्ने बताए । ‘सरकारले एनसेलको पक्षमा वकालत गर्नुले प्रष्ट भइसकेको छ, माओवादी, कांग्रेस कर छलिमा संग्लग्न छन् । उनीहरुले एनसेलसंग मिलेर जनताहरुलाई लुटिरहेका छन् ।’ उनले भने–‘ हामी सबै नागरिक मिलेर एनसेललाई कर तिराउँछौँ । सरकारले छोडे पनि एनसेललाई जनताले छोड्दैनन् ।’
माईतीघर मण्डलामा भएको कार्यक्रममा ३ सय जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा सार्वजानिक सस्था कर्मचारी संगठन नेपालका महासचिव भोलानाथ घिमिरे र अध्यक्ष गोविन्दप्रसाद पौड्यालले एनसेलविरुद्ध मन्तब्य प्रस्तुत गरे । एनसेलले ३३ अर्व नबुझाए आगामी दिनमा एनसेलविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
सरकारले ३३ अर्ब करबाट एनसेललाई मुक्ति दिन खोजिएपछि चौतर्फी बिरोध भएको छ । माईतीघरमा भएको कार्यक्रममा विभिन्न संघसस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो । उनीहरुले एनसेल र सरकारको नीतिगत भ्रष्टाचार विरोधी नारा लगाउँदै विरोध जनाए । ‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ ।’ ‘एनसेल ३३ अर्ब तत्काल फिर्ता गर ।’ लेखिएका पम्प्लेट बोकेर विरोधमा उत्रिएका थिए । - सागर बुढाथोकी ncell tax protest maitighar notaxnoncell