News

लमजुङमा राप्रपासहित तीन दल निर्वाचनमा सहभागी हुन नपाउने

लमजुङमा राप्रपासहित तीन दल निर्वाचनमा सहभागी हुन नपाउने
चैत्र - ८ । लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत तीन दल स्थानीय तहको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन्। निर्वाचन आयोगद्वारा तोकिएको समयावधिभित्र जिल्लामा निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएका कारण ती दलले पार्टीको चुनाव चिह्नसहित निर्वाचनमा सहभागी हुन नपाउने देखिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दल दर्ता नगराएका कारण लमजुङमा राप्रपासहित नेकपा (मार्क्सवादी लेनिनवादी) र देशभक्त समाज पार्टी निर्वाचनमा सहभागी हुन पाउने छैनन्। तर समयमा दर्ता नगराएका दलले स्वतन्त्र उम्मेदारका रुपमा मात्र निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिलसेनाले बताए। कार्यालय प्रमुख तिमिलसेनाका अनुसार निर्वाचन आयोगले २०७३ माघ १७ सम्म जिल्लामा दल दर्ता गरिसक्नुपर्ने प्रावधान राखेको थियो। तर तीन दलले भने म्याद सकिएपछि मात्रै दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए। स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक सय २३ मतदानस्थल कायम गरिएको छ। दोस्रो संविधानसभाको निर्वाचनमा यहाँ एक सय २४ मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिमिलसेनाले जानकारी दिए। लमजुङको आठ स्थानीय तहमध्ये चार नगरपालिकामा ६७ र चार गाउँपालिकामा ५६ मतदान केन्द्र कायम गरिएको छ।

विशेष