News

सानैमा बाबु गुमाएकी बालिकाको आर्थिक अभावले उपचार हुन सकेन

सानैमा बाबु गुमाएकी बालिकाको आर्थिक अभावले उपचार हुन सकेन

जाजरकोट, चैत ९ । कुशे गाउँपालीका–६ घरंगाकी ११ वर्षीय बालिका प्रतिमा सिंह जन्मिएको एक बर्ष नपुग्दै बुवा गुमाएकी टुहुरी बालिका हुन् । जन्मजात दीर्घ रोगी बन्न पुगेकी प्रतिमा सिंहको आर्थिक अभावमा उपचार हुन सकिरहेको छैन । पोषणयुक्त खाने कुराको अभावमा उनी ११ बर्षकी पुगि सक्दा पनि बोल्न सकिरहेकी छैनन् । बोल्न नसक्ने मात्र हैन कि प्रतिमा उठेर हिड्डुल पनि गर्न सक्दिनन् । टाउको घुमाई रहने प्रतिमाले कपडामै दिसा पिसाव गरेको पनि थाहा पाउन सक्दिनन् । खाना खुवाउन पनि उनलाई अरुले नै खुवाउनु पर्ने आमा ललिता सिंहले बताईन् । प्रतिमाको स्वास्थ्य समस्यामा आमा ललिता निक्कै चिन्तित बनेकी छन् । हाल सम्म कुनै स्वास्थ्य केन्द्र तथा अस्पतालमा प्रतिमाको स्वास्थ्य चेकजाँच हुन सकेको छैन् । प्रतिमाको स्वास्थ्य चेकजाँचमा लाग्ने खर्च रकम जुटाउन नसकेर कुनै पनि अस्पतालमा लिन नसकेको आमा ललिताले जानकारी दिईन् ।
छोरीको उपचारमा लाग्ने खर्च जुटाउनलाई घरमा कमाई गरिदिने मान्छे पनि नभएको दुखेसो ललिताको छ । छोरी एक बर्षको नपुग्दै बुवा कल्दर सिंहको मृत्यु भैसकेको र छोरीको उपचार आफुले गर्न नसकेको भन्दै ललिताले पिडा व्यक्त गरिन् । घरमा दुई छोरा र दुई छोरी भएता पनि जेठी छोरीको बिबाह भैसकेको ललिताले जानकारी दिईन् । जेठो छोरा विक्रम सिंह १८ बर्षको भएता पनि आर्थिक अभावका कारण पढाउन नसकिएको उनको भनाई रहेको छ । १४ वर्षीय कान्छो छोराे कैलास सिंह गाउँकै स्कुलमा कक्षा ५ मा पढिरहेका छन् । –दीपबहादुर घर्ती

आर्थिक अभाव उपचार जाजरकोट बालिका

विशेष