News

गोरखा सैनिकको निवृत्तिभरण नेपाली बैंकबाट पाउन माग

गोरखा सैनिकको निवृत्तिभरण नेपाली बैंकबाट पाउन माग
चैत्र–१० । बेलायती सेनामा काम गरेका अवकाश प्राप्त गोरखा सैनिकलाई नेपाल राष्ट्र बैंकबाट निवृत्तिभरण दिनुपर्ने माग गरिएको छ । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले अवकाशपछि पाउने निवृत्तिभरण ‘भारतीय रिजर्भ बैंक’मार्फत आएकाले अब नेपाल राष्ट्र बैंकमार्फत पाउनुपर्ने माग गरेको हो । गेसोका अध्यक्ष कृष्णकुमार राईले गोरखा सैनिकको निवृत्तिभरण भारतीय बैंकमार्फत पठाउनु नेपालमाथिको अपमान भएको बताए । उनले भने, ‘गोरखा सैनिकको पेन्सन नेपाली बैंकमार्फत पाउनुपर्ने माग गर्दै हामीले नेपालका उच्च तहलाई भेटेर ध्यानाकर्षण गराइसकेका छौँ ।’ अध्यक्ष राईले गोरखा सैनिकलाई अधिकारसहितको दोहोरो नागरिकता, समान कामको समान ज्याला, नेपालमै बेलायतसरह स्तरीय स्वास्थ्य सुविधा र तिनका सन्तानलाई बिनासर्र्त बेलायतमा आवासीय अधिकार दिइनुपर्ने तथा विधवालाई आजीवन तलबको व्यवस्था गरिनुपर्ने माग गरे । यस्तै युद्धपीडितलाई क्षतिपूर्ति र सम्मान दिइनुपर्ने, सन् १९८६ मा अमेरिकाको हवाइ काण्डका पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने, कटौती बिदाको समय बढाइनुपर्ने, गोरखा समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने लगायत माग गरिएको छ । अध्यक्ष राईले दुई वर्र्ष पुरानो गोरखा भर्तीलाई बेलायत र नेपालले उपेक्षा गरेको आरोप लगाउँदै त्यसविरुद्ध शान्तिपूर्ण आन्दोलन गरिने चेतावनी दिए । उनले गोरखा सैनिकको अधिकारका लागि यही चैत १६ गते बेलायतका रक्षामन्त्रीसँग भेट गरी आफ्ना कुरा प्रस्टसँग राख्ने बताए। हाल बेलायतमा करिब तीन हजार चार सय गोरखा सैनिक कार्यरत छन् । रासस

गोरखा सैनिक निवृत्तिभरण नेपाल राष्ट्र बैंक

विशेष