News

चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फर्किए

चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फर्किए
चैत्र - १२ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदाइ गरेका थिए। रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका थिए। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग पनि उहाँले द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए। नेपाल र चीनबीच परापूर्वकालदेखि नै मित्रवत् सम्बन्ध रहिआएको छ । चीनले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ भने असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तमा आधारित हाम्रो परराष्ट्र सम्बन्धले एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको छ । रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको र हामी हाम्रो भूमिमा छिमेकी मित्रराष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि गर्न दिने छैनौँ भनी विश्वास दिलाएका थिए। प्रधानसेनापति राजेन्द्र क्षत्री र जनरल चाङबीच भएको भेटवार्तामा दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको हो । उनको भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको रक्षामन्त्रालयले जनाएको छ ।

रक्षामन्त्री जनरल चाङ वानक्वान

विशेष