News

राष्ट्रपति उत्थान कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउँदै

राष्ट्रपति उत्थान कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउँदै
चैत्र - १२ । पहिलोपटक राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने हाते होजियारी तालिम सुरु भएको छ । कार्यक्रमले जिल्लामा रहेका विपन्न तथा पिछडिएका महिलालाई पुरुषसरह बनाउन यो कार्यक्रम लागू भएको हो । राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने तालिम लिन आएकी एक सहभागी हुन् बाँधु गाविस–६ की राधिका अधिकारी । उनी अहिले ३९ वर्षकी भइन् । महिला तथा बालबालिका कार्यालय, बाजुराले सञ्चालन गरेको तीन महिने हाते होेजियारी तालिम लिन सामान्य परिवारकी अधिकारी दुई दिन पैदल हिँडेर सदरमुकाम आएकी हुन् । छोराछोरीको कुनै चिन्ता नमानी तालिममा एकमन भएर सीप सिक्ने अधिकारीको लक्ष्य रहेको छ । दैनिक घरको काममा व्यस्त हुने अधिकारी अब भने सीप सिकेर व्यावसायिक बन्ने धूनमा छिन् । उनी भन्छिन्, ‘अवसर नपाएको हुँदा केही गर्न सकिएन अब तालिम लिएपछि गाउँमै राडीपाखी बुनेर छ जना घरपरिवारको खर्च चलाउँछु ।’ अधिकारी जस्तै जुकोट–४ की मन्देवी जैसीको भनाइ पनि उस्तै छ । उनी अहिले २१ वर्षकी भइन् । उनी दुई दिन पैदल जिल्ला आएकी छन् । महिलाले केही गर्न हुँदैन भन्ने मान्यता चिर्न राष्ट्रपति महिला उत्थान कार्यक्रमको तीन महिने होजियारी तालिम लिन आएको उनले बताइन् । महिलालाई समाजले हेर्ने दृष्टिकोण बदल्न पनि अब महिलाले सीपमूलक तालिम लिएर आत्मनिर्भर बन्नुपर्ने उनको विचार छ । तालिमले विपन्न पछाडि पारिएका महिलाको जीवनस्तर माथि उठ्नेमा आफू विश्वस्त रहेको जैसीले बताइन् । घरमै बसेर सीप सिक्ने चाहना हुँदाहुँदै पनि यसभन्दा पहिले कुनै अवसर नपाएको बताउने उनले अब यो तालिमबाट आफूले बिना लगानीमा व्यावसायिक बन्न सक्ने बताइन् । कुल्देवमाण्डौ–२ की सगुनी खाती ३४ वर्षकी भइन् । कलिलै उमेरमा श्रीमान् बिते । उनी अहिले बेसहारा बन्दै आएकी छन् । एकल महिला भएर पनि उनले तीन छोराछोरीको पालनपोषण गर्दै आएकी छन् । खातीलाई विहान बेलुकी छाक टर्न धौ धौ पर्छ । उनको जेठो छोरा ८ कक्षा र माहिली छोरी ६ कक्षामा पढ्छन् । उनले छोराछोरीका लागि कापी कलम ज्याला मजदुरी जोहो गर्दै आएकी छन् । महिला तथा बालबालिका कार्यालयले आवेदन आह्वान गरेपछि उनलाई तालिम लिने अवसर मिलेको हो । ‘सीप सिक्न छोराछोरी अर्काको साथमा छोडेर एक दिनको यात्रा गर्दै जिल्ला आएकी छु, सीप सिकेर गाउँमै हाते होजियारी उद्योग सञ्चालन गर्ने सोच छ’ खातीले भनिन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमले जिल्लामा रहेका अति विपन्न, दलित र पिछडिएका महिलालाई लक्ष्य तालिम सञ्चालन गरेको महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत कमला शाहीले बताए । साविकका २४ गाविस र एक नगरपालिकाका ३५ जना महिला तीन महिने सीप विकास तालिममा सहभागी भइरहेका छन् । बाजुरा मानव विकास सूचकांकको ७५ औं स्थानमा छ । तालिमका लागि १६ लाख रुपैयाँ बजेट खर्च गरिनेभएको छ । घरेलु तथा साना उद्योग विकास समिति बाजुराको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिम २०७४ असार ८ गतेसम्म सञ्चालन हुनेछ । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गरे ।

विशेष