News

प्रधानमन्त्री दाहाल बेइजिङमा

प्रधानमन्त्री दाहाल बेइजिङमा
चैत - १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवं विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्टहाउससम्म पुग्ने सडकको एक खन्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीयसचिव प्रकाश दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहाल शनिबारै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् भने नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गर्नेछन् । आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, सोमबार उनले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शनिबार बिहान एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा सम्बोधनपश्चात चीनको बोआओ सहरबाट शनिबारै बेइजिङ पुगेका हुन् । रासस

विशेष