अन्तरवार्ता News

कञ्चनले पाउन लागेका ११ लाख रुपैयाँ समाजसेवी दीक्षा चापागाईंका कारण भाँडियो

कञ्चनले पाउन लागेका ११ लाख रुपैयाँ समाजसेवी दीक्षा चापागाईंका कारण भाँडियो


चैत–१४ । बहुचर्चित ‘कञ्चन शर्मा भर्सेस मोहन रेग्मी’ प्रकरण समाजसेवी दीक्षा चापागाईंका कारण फेरि चर्चामा आएको छ ।

पाँच वर्ष अघि नै सम्बन्ध विच्छेद भइसकेको भए पनि कञ्चनका पूर्वपति मोहन रेग्मीले ‘मानवताको नाता’ भन्दै ११ लाख रुपैयाँ दिन आइतबार घट्टेकुलोमा एक कार्यक्रमको आयोजना गरेका थिए । तर अन्तिम समयमा सो कार्यक्रम भाँडिएको छ । कार्यक्रम भाँडिनुमा समाजसेवी दीक्षा चापागाईंको भूमिका देखिएको मोहनले दावी गरेका छन् ।

कार्यक्रमअनुशार मोहनले ११ लाख रुपैयाँ कञ्चनकी जेठी दिदी निर्मला पोख्रेल, माइली दिदी सरला मुडवरी, कञ्चनका दाई पर्ने मोहन चापागाईं आदिलाई साक्षी राखेर रकम हस्तान्तरण गर्ने योजना थियो ।

घट्टेकुलोस्थित पत्रकार मञ्चको कार्यालयमा रकम हस्तान्तरण कार्यक्रमको आयोजना नै गरिएको थियो । जहाँ पत्रकारहरु र अन्य सम्बन्धित व्यक्तिहरु पुगेका थिए । मञ्चको कार्यालयबाट नजिकै कञ्चन शर्माकी आमा छत्रछायाँ न्यौपाने आफ्ना छोरासँग बस्ने गर्छिन् । साक्षीहरुलाई राखेर सो रकम कञ्चनले पाउने गरी छत्रछायाँलाई दिने बताइएको थियो ।

साक्षी बस्न र विषय टुंग्याउन पत्रकार मञ्चको कार्यालयमा कञ्चनका दिदीहरु पनि पुगे । उनीहरुले रकम हस्तान्तरणका लागि तयार पारिएको कागजमा भएको भाषामा विवाद झिकेका थिए । जसमा ‘मोहनले कञ्चनलाई सहयोग गर्नु पर्ने कुनै बाध्यता नभए पनि मानवताका दृष्टिले सहयोग गर्न लागेको’ जस्तो भाषा थियो । त्यसमा उनीहरुले यस्तो किन लेख्नु पर्यो भन्दै असन्तुष्टि जनाए । भाषा मिलाउन मोहन रेग्मी तयार भएपछि कञ्चनका दिदीहरु धेरै हदसम्म विषय टुंग्याउन तयार भए ।

रकम हस्तान्तरण सम्बन्धी कागजातमा हस्ताक्षर गराउन कञ्चनलाई पनि उनकी आमा छत्रछायाँकै डेरामा ल्याउने सल्लाह भएको थियो । जसअनुसार कञ्चनलाई लिएर समाजसेवी दीक्षा चापागाईं पुगिसकेकी थिइन् । हस्ताक्षरका लागि कागजात बोकेर अधिवक्ता, पत्रकारसहितको टोली पुगेपछि दीक्षाले कञ्चनलाई डेराबाट निकालिन् । हस्ताक्षर गराउनुको सट्टा मोटरसाइकलमा राखेर उनले कञ्चनलाई अन्तै लिएर गइन् । त्यसपछि दीक्षा एक्लै फर्किन् ।

टोलीमा सहभागी एकका अनुशार दीक्षाले भनिन्, ‘मोहनका पत्रकार, मोहनका वकिल ल्याएर के गर्न खोजेको ? हाम्रा पनि वकिल र पत्रकार छन् । यो तालले कसरी रकम हस्तान्तरण हुन्छ ?’

दीक्षाको त्यस्तो भनाइ आएपछि रकम हस्तान्तरण सम्बन्धी कार्यक्रम स्वतः भाँडियो । कार्यक्रम विथोलिएपछि मोहनले भने, ‘मैले त पहिले जे भनेको थिएँ, सोही अनुशार रकम दिन खोजेको हो । दीक्षाले बिनाकारण कार्यक्रम भाँडिन् । अब रकम दिने कि नदिने सोचेर निर्णय लिन्छु ।’ यसविषयमा प्रतिक्रिया लिन समाजसेवी दीक्षा चापागाईंसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो । त्यो सफल हुन सकेन ।

केही महिना अघि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमनसँग’मा अतिथी भएर गएकी कञ्चन शर्मा न्यौपानेले आफूलाई पतिले सडकको बास बनाएको, छोराहरुले पनि बेवास्ता गरेर बिल्लीबाठ बनाएको बताएकी थिइन् । कञ्चनको सो भनाइ टेलिभिजनमार्फ आएपछि उनका

पूर्वपति मोहन रेग्मी र छोराहरुबारे सामाजिक सञ्जालबाट उनीहरुलाई चौतर्फी हमला भयो ।  लगत्तै पूर्वपति मोहन रेग्मीले पनि नेपाल आज डटकमसँगको भिडियो अन्तर्वार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरे । जसबाट विषय कञ्चनले भने झै मात्रै होइन भन्ने स्पष्ट भएको थियो ।

Kanchan Sharma mohan regmi

विशेष