विदेश

सैनिक विमानस्थल अमेरिकी सेना र आइएसबीच झडप

सैनिक विमानस्थल अमेरिकी सेना र आइएसबीच झडप
चैत्र - १४ । अमेरिका आबद्ध संयुक्त सेना र इस्लामिक स्टेट (आइएस) आतङ्ककारीबीच उत्तरी सिरियाको प्रमुख सहरमा सोमबार झडप भएको छ । जिहादीहरुले सैनिक विमानस्थल कब्जा गरेको केही घन्टापछि झडप भएको जनाइएको छ । द सिरियन डेमोक्र्याटिक बल (एडिएफ) को ताब्का विमानस्थलमा रहेको शिविर आइएस आतङ्ककारी समूहले आइतबार अबेर राति कब्जामा लिएको थियो । सोमबार एडिएफका सेनाले सोही शिविर वरिपरि भीषण आक्रमण गरेको अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । विमानस्थलको उत्तरी भागमा भएको यस आक्रमणमा एडिएफले भीषण हवाई आक्रमणसमेत भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतङ्ककारी समूहको बिगबिगी बढ्दै गयो । जारी यस युद्धमा परी सन् २०११ को मार्चदेखि हालसम्म तीन लाख १० हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । जारी द्वन्द्वमा परी लाखौँ जनता घाइते भएका छन् । लाखौँ जनता आफ्नो घर छोडी स्वदेश तथा विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

Syria War

विशेष