अर्थ विदेश

संग्रहालयबाट ४० करोड बढी मूल्यको सुनको सिक्का चोरी

संग्रहालयबाट ४० करोड बढी मूल्यको सुनको सिक्का चोरी
चैत १५ । जर्मनीको एक संग्रहालयबाट ४० लाख अमेरिकी डलर अर्थात् ४० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सुनको सिक्का चोरी भएको छ । जर्मनीको बर्लिनस्थित बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । क्यानडामा बनाइएको यो सिक्काको प्रत्यक्ष मूल्य नै १० लाख डलर अर्थात् १० करोड रुपैयाँभन्दा बढीको भएको बताइएको छ । एक सय किलो तौलको यो सिक्का २४ क्यारेटको शुद्ध सुनबाट बनेको बताइएको छ । सिक्काको मूल्य वास्तविक तौलभन्दा निकै बढी भएको मानिन्छ । संग्रहालयमा गरिएको सुरक्षालाई चुनौती दिँदै करिब आधा मिटर ब्यास भएको यो सिक्का कसरी चोरी भयो भन्ने खुलासा भएको छैन । कुनै एक जना मात्र व्यक्तिले यो सिक्का बोकेर लैजान सहज नभएको सुरक्षाकर्मीहरुले बताएका छन् । संग्रहालयभित्र बुलेटप्रुफ शिशामा यो सिक्का राखिएको थियो । तीन सेन्टिमिटर चौडा र ५३ सेन्टिमिटर ब्यास भएको यो सिक्काको एकातिर बेलायती महारानी एलिजावेथ द्वितीयको तस्बिर र अर्कोतर्फ क्यानडाको राष्ट्रिय चिह्न अंकित छ ।

विशेष