निर्वाचन आचारसंहिता देखाएर ट्याक्सी वितरण रोकियो
चैत–१९ । सरकारले भूकम्पपीडितका लागि वितरण गर्ने भनेको ट्याक्सी वितरणलाई अनावश्यक निहुँ झिकेर लम्ब्याएको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तरर्गतको यातायात व्यवस्था विभागले फागुन ७ गते सार्वजनिक सूचना जारी गरेर चैत २६ मा १ हजार ५ सय ट्याक्सी वितरण गर्ने जानकारी दिएको थियो ।
तर अहिले स्थानीय तहको निर्वाचनका कारण वितरण गर्न नसकिने उल्लेख गर्दै सो कार्यक्रम स्थगन गरेको छ । विभागले निर्वाचन आचारसंहिताका कारण ट्याक्सी वितरण तत्काल सम्भव नहुने जनाएको छ । यद्यपि यो कार्यक्रम पहिले नै घोषणा भइसकेकोले यसमा आचारसंहिता नलाग्ने काठमाडौं चपली–८ का भूकम्पपीडित विष्णुकुमार बस्नेत बताउँछन् ।
बस्नेतले ७२ वैशाख १२ को भूकम्पमा ठूलो नोक्सानी व्यहोरेका थिए । दोलखा मेलुंगे–४ का अर्का पीडित खेसाङ दोर्जे लामा भन्छन्, ‘समयमै ट्याक्सी पाए बाँच्न अलिकति सहज हुन्थ्यो कि भन्ने आशा छ । ’
१ हजार ५ सय ट्याक्सी वितरण गर्ने भनिए पनि यसमा १ लाख ४९ हजारले आवेदन दिएका थिए । जसका कारण गोलाप्रथाबाट ट्याक्सी दिने निर्णय यसअघि नै भइसकेको छ । भूकम्पपीडितहरुले तोकिएको समयमै ट्याक्सी वितरण गर्न सरकारसँग माग गरेका छन् । अन्यथा आन्दोलनमा जान सकिने चेतावनी पनि उनीहरुले सरकारलाई दिएका छन् ।
सरकारले भूकम्पबाट अतिप्रभावित दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका पीडितहरुका लागि ट्याक्सी वितरण कार्यक्रम घोषणा गरेको थियो ।