कभर स्टोरी भिडियो राजनीति

यस्तै हो भने नयाँ शक्तिमा हिसिला मात्रै बाँकी हुन्छिन् (भिडियोसहित)

यस्तै हो भने नयाँ शक्तिमा हिसिला मात्रै बाँकी हुन्छिन् (भिडियोसहित)

निर्मल भट्टराईलाई नयाँ शक्तिको विद्रोही नेता पनि भन्दा हुन्छ । महाधिवेशमा अध्यक्ष पदमै उठ्ने घोषणा गरेपछि संयोजक बाबुराम भट्टराईको आँखाको कसिंगर बनेको निर्मललाई अन्ततः नयाँ शक्तिले कारबाही पनि गरेको छ । कारबाहीको मूख्य कारण उनले निर्वाचन बिथोल्नु हुँदैन भनेका थिए । बाबुराम भट्टराई संघीय समाजवादी फोरमसँग मिलेर निर्वाचन बिथोल्ने तयारी गरिरहेको बेला निर्मलले सोको विरोध गरेका थिए । निर्मलको भनाईअनुशार यस्तो धारणा राखेपछि नयाँ शक्तिमा उनी हटाउने अवस्था भएन । निर्मलसँग गरिएको कुराकानीको मुख्य बुँदाहरु निम्नानुसार छन्ः

नयाँ शक्ति पार्टीले मुख्यरुपमा आर्थिक समृद्धिलाई जोड दिएको देखियो । विभिन्न खाले आन्दोलन भए यसकारण अब आन्दोलनको समय होइन, समृद्धितर्फ अगाडि बढ्नु पर्छ भन्ने मान्यता नयाँ शक्तिको देखिएपछि देशभर विभिन्न जिल्लाबाट मानिसहरु नयाँ शक्तिमा प्रवेश गरे ।


तर पछिल्लो समय आएर त संयोजक भट्टराई त राजनीतिक आन्दोलन नै गर्नु पर्छ भन्न थाल्नु भयो । नाकाबन्दी गरेर ३ करोड नेपालीलाई दुःख दिने मधेसका राजनीतिक दलसँग साँठगाँठ गरेर निर्वाचन बिथोल्ने, आन्दोलनमा जाने कुरा गर्न थालेपछि हामीले विरोध गर्यौं । त्यो उहाँका लागि सहन सकिने खालको भएनछ ।

पार्टीको विधान पास भएको भोलिपल्ट मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे । त्यसपछि त डा. बाबुराम भट्टाराई मसँग बोल्न छाड्नु भयो । मैले नमस्कार गर्दा पनि फर्काउन छाड्नु भयो । मलाई अचम्म लाग्यो, एउटा लोकतान्त्रिक पार्टीमा उम्मेदवारी दिँदैमा कुनै ठूला नेता किन रिसाउनु पर्ने हो ? म छक्क परें । संयोजक भट्टराईलाई लागेको रहेछ–मेरो कम्पनी (पार्टी)मा आएर मलाई काउन्टर दिने ? सायद यस्तै लागेर होला उहाँले फरक मत, विचार राख्नेहरुलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गर्न थाल्नु भयो ।

माओवादी जनयुद्धमा हुँदा जब कसैलाई निर्ममतापूर्वक हत्या गरिन्थ्यो, त्यो कुरा बाबुराम भए ठाउँ पनि पुग्थ्यो । बाबुरामले ‘यस्ता सानातिना कुरा के सुनाको ?’ भन्ने गर्नुहुन्थ्यो तर प्रचण्डले चाहीँ सहानुभूति जनाउनु हुन्थ्यो भन्ने पनि बाहिर आएको थियो ।

बाबुराम भट्टराईको लागि लोकतान्त्रिक व्यवस्था खेलाउने वा बोल्ने विषय मात्रै बनेको छ । लोकतान्त्रिक व्यवस्था भनेको त जीवनपद्धती हुनु पर्ने हो । तर उहाँमा लोकतान्त्रिक व्यवहार छैन, शैली पनि छैन । उहाँको पार्टीमा उहाँ बाहेक बाँकी सबै थपना मात्रै हुन् भन्ने मैले बुझें ।

मस्यौदा समितिको सभापति बन्नु भयो । संविधानमा हस्ताक्षर गर्नु भयो । अनि बाहिर आएर ‘आधा गिलास खाली, आधा गिलास भरिएको’ भनेर टिप्पणी गर्नुभयो । हामीलाई यो कुरा चित्त बुझेको थिएन । तर हामीले सोचेको थियौं, उहाँले संविधानलाई आत्मसात गर्नुहुनेछ । अहिले आएर के देखियो भने बाबुरामलाई त संविधान नै घाँडो भइसकेको रहेछ ।

संविधन नै असफल पार्न खोज्ने बाबुरामको मिसन हामीले बुझ्न सकेका छैनौं ।  आर्थिक अनियमितता बढी भएर रामेश्वर खनालले नयाँ शक्ति छाड्नु भयो । नयाँ शक्तिमा केही नेताहरु यस्ता पनि छन् जो दम्पत्ति नै पूर्णकालीन छन् । तर उनीहरुको जीवन शैली हेरौं त, गाडी उनीहरु नै चढछन् । भनेजति खर्च गरेकै छन् । छोराछोरीलाई सुविधासम्पन्न र महंगो विद्यालय, कलेजमा पढाएका छन् । अरु आय देंिखदैन । यस्तो कसरी भयो ?

नयाँ शक्तिमा जो माथिल्लो नेतृत्वसँग नजिक भयो, यसले भनेजति पैसा पाउँछ । अरुले पाउँदैनन् । नेताले पैसा बाँड्ने अरु पार्टीमा हुँदैन । नयाँ शक्तिमा हुन्छ ।

यस्तो विकृति रोक्न रामेश्वर खनालले पनि कोसिस गर्नुभयो । कार्यविधि बनाउनु भयो । तर खनालले नै त्यो पार्टीमा बस्ने अवस्था रहेछ । खनालको कार्यविधिलाई पार्टीमा कसैले मानेनन् । ‘यस्तो कार्यविधिले पार्टी चल्छ ? पैसा नउठाई कसरी पार्टी चलाउने ? आदर्शवादले पेट भरिँदैन ।’ भनेर कार्यविधि टोकरीमा फाल्ने काम भयो ।

Nepali Politics Nirmal Bhattarai

विशेष