परिश्रमको पाठ सिकाउन पूर्वआइजिपीले आफ्नै नातिलाई पठाए म्यादीमा
चैत–२२ । म्यादी प्रहरीको आवेदन संकलन गर्ने क्रममा १७ वर्षीय पुजन बरालको तीनपुस्ते विवरण देखेपछि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी अधिकारी केहीबेर अचम्ममा परे । त्यसको कारण थियो – हजुरबुबा नेपाल प्रहरीबाट अवकाशप्राप्त आईजीपी खड्गजित बराल र चिकित्सक आमा–बाबुका छोरा पुजनले म्यादीमा आवेदन दिनु ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पनि पूर्वआईजीपी बरालका नाति पुजनले म्यादीमा आवेदन दिन आएको सुनेपछि अचम्ममा परे । पछि आफैं यसबारे जानकारी लिन गएपछि मात्रै एसएसपी जोशीलाई पत्यार लागेको थियो । अन्योल र कानेखुसीबीच टेकुस्थित काठमाडौं प्रहरीले पूर्वआईजीपी बरालका नाति पुजनको आवेदन दर्ता गरायो ।
त्यसपछि उनी वैशाख ३१ का लागि तय भएको स्थानीय तह निर्वाचनमा ५५ दिनसम्म म्यादी सुरक्षाकर्मीका रुपमा खटिने पक्का भएको छ । उनका बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा. ज्योति बराल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रसुति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।
९० वर्ष पुग्नै लागेका पूर्वसांसद् तथा पूर्वराजदूत हजुरबुबा खड्गजितले आमा(बाबु वा हजुरबुबाको नाम तथा दामले नर्भइ सबैले आफ्नै मेहनत र परिश्रमले जीवन निर्वाह गर्नुपर्छ भन्ने पाठ सिकाउन नातिलाई म्यादी प्रहरीमा पठाएको बताए । –कारोबार दैनिकबाट ।