News

मतदाता परिचयपत्र दस दिनभित्र छापिसक्ने

मतदाता परिचयपत्र दस दिनभित्र छापिसक्ने
चैत २२ । २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनमा प्रयोग गरिने मतदाता परिचयपत्रको छपाइ सोमबार सुरु भएको छ । आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय परिसरमै परिचयपत्र छपाइको कार्य सुरु भएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १० का मतदाता सुनकुमारी खत्रीको परिचय नम्बर १०५४०५७९ को मतदाता परिचयपत्र सार्वजनिक गर्दै परिचयपत्र छपाइको शुभारम्भ गरेका हुन् । मतदाता खत्रीको जनप्रभा उच्च माविमा मतदान केन्द्र छ । मतदाताको परिचयपत्र लेमिनेसनसहित तयारी अवस्थामा आएको छ । यो मतदाता परिचयपत्र नयाँ प्रविधि प्रयोग गरी बनाइएको हो । स्थानीय तह निर्वाचनमा यही नयाँ परिचयपत्र प्रयोग गरेर मात्रै मतदान गर्न पाइनेछ । यसअघि बनाइएका पुराना परिचयपत्रबाट मतदान गर्न नपाउने आयोगले जनाएको छ । आयोगले आइतबारमात्रै स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत गरेको थियो । नयाँ परिचयपत्रमा विशेष प्रकारका भ्वाइड प्रिन्टोग्राफ, माइक्रोटेक्स्ट, डिफ्युज प्रिन्टिङ, क्यूआर कोडजस्ता सुरक्षण विधि अपनाइएको छ । यो परिचयपत्रलाई फोटोकपी वा स्क्यान गर्न मिल्दैन, त्यसो गरेमा नक्कली भएको तत्कालै थाहा हुने जानकारी आयोगले दिएको छ । यसमा रहेको क्यूआरकोडमा अन्य विवरण राख्न र त्यसमा रहेका विवरण हेर्न सकिन्छ । छपाइ गर्ने जिम्मा पाएको ओम्नी गु्रपका अध्यक्ष तुलहरि सिंहले १० दिनमा छपाइ कार्य सक्ने जानकारी दिए । परिचयपत्रको चारैतिर सिल्ड भएकाले नभाँचिने र १० वर्षसम्म चल्ने उनले जानकारी दिए । प्रतिघन्टा ६५ देखि ७० हजार प्रति तयार गर्न सकिने र दैनिक सातदेखि १० लाख मतदाताको परिचयपत्रको छपाइ गर्न सकिने उनले बताए । मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको छ । परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ । त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ । एउटा परिचयपत्रको लागत नौ रुपियाँ ९९ पैसा रहेको छ । परिचयपत्र छपाइ छिटो भए पनि प्याकिङ गर्न भने समय लाग्नेछ । आयोगको कार्यतालिका अनुसार वैशाख १० गतेसम्म जिल्लाजिल्लामा पु¥याउने योजना छ । आयोगले संविधानसभा निर्वाचन २०७० देखि फोटोसहितको मतदाता परिचयपत्रको व्यवस्था गरेको हो । आयोगले आइतबारदेखि नै मतदाताको नामावली पनि छपाइ सुरु गरेको थियो । मतदाताको नामावलीमा पनि मतदाताको तस्बिर अङ्कित हुनेछ ।

matadata parichayapatra

विशेष