News

रविन्द्र शाहको हत्या विप्लव माओवादीका कार्यकर्ताले गरेको खुलासा

रविन्द्र शाहको हत्या विप्लव माओवादीका कार्यकर्ताले गरेको खुलासा
चैत्र २२ । नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस, जाजरकोटका युवा नेता रविन्द्र शाहको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय, जाजरकोटले पत्रकार सम्मेलनको आयोजना गरेर हत्याका दोषी सार्वजनिक गरेको हो । शाहको हत्यामा संलग्न मुख्य दोषीका रुपमा ढिमेका पौरख मल्ल भनिने बलबहादुर मल्ल, तिमीलेका ईतिहास भनिने प्रेमबहादुर वली, खगेनकोटका शिव भनिने ठगेन्द्रबहादुर सिंह, पजारुका अभिषेक भनिने दिर्घबहादुर नेपाली, पिपेका डिल्ली भनिने डिलबहादुर राना, लहँका मोहित सिंह भनिने ईन्द्र शाही र नाम खुल्न नसकेका सुर्खेत घर भएका एक जना रहेको प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । शाहको हत्यामा संलग्न सबै नेत्रविक्रम चन्द (विप्लव) महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिएका छन् । हत्यामा संलग्न दोषीहरुमा ठगेन्द्रबहादुर सिंह र डिलबहादुर रानालाई पक्राउ गरि अनुसन्धान जारी राखिएको छ भने, अन्यहरुको खोजीकार्य भईरहेको अञ्चल प्रहरी प्रमुख शाहले बताए । शाहको हत्या कुनै भव्यतव्यमा नभएर सुनयोजित रुपमा भएको अञ्चल प्रहरी प्रमुख महेशविक्रम शाहले तर्क गरे । घटनामा धेरै व्यक्तिहरुको संलग्नता रहेको उनले ठोकुवा गरे । शंकास्पद व्यक्तिहरुलाई पोलीग्राफ परिक्षण, सिडिआर विश्लेषण तथा शंकास्पद व्यक्तिहरुको मोवाईल नम्बरको कल डिटेल अध्ययन गरेर घटनाका दोषीहरु पत्ता लगाएको अञ्चल प्रहरी प्रमुख शाहको भनाई रहेको छ । ज्यानै जानेगरी घटना घटाईनुमा कुनै राजनैतिक कारण नभएर व्यक्तिगत रिसिवी, आर्थिक लेनदेन तथा आर्थिक प्रलोभन हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गत पुस १३ गते पाँचतारा युवा संरक्षक मञ्चको कार्यालयमा रविन्द्र शाह र विप्लवका कार्यकर्ता बीच चन्दाको बिषयमा झगडा भएर हातपात भएको, नेपाल कम्यसनिष्ट पार्टी “विप्लव” का कार्यकर्तासंग रविन्द्र शाहको बढ्दो मनमुटाव रहेको, रविन्द्र शाहले हरेक ठेक्का आफ्नो पक्षमा पार्दा अन्य ठेकेदार पनि असन्तुष्ट रहेको, ठेक्कामा शाहको नीजि बर्चस्व बढ्दै जानु, रविन्द्र शाहको पछाडी बलियो राजनैतिक पृष्ठभूमी हुनु, केहि महिना अगाडी ढिमेको सिंचाई कुलो निर्माणको ठेक्कामा सहमति भए अनुसार “पौरख” भन्ने बलबहादुर मल्ललाई रविन्द्र शाहले दिनु पर्ने रकम नदिनु र विप्लवका कार्यकर्तालाई चन्दा तथा सहयोग गर्न अस्वीकार गर्नु नै घटनाका मुख्य कारण रहेको प्रहरी भनाई रहेको छ । रविन्द्र शाहको हत्यामा आफ्नो पार्टीका कार्यकर्ता संलग्न भएको भए पनि पार्टीले बचाउ नगर्ने नेत्रविक्रम चन्द (विप्लव) महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी भेरी व्युरो ईन्चार्ज गगनबहादुर खड्का (जीवन) ले जानकारी दिए । हत्याका दोषीले छुट पाउन नहुने र निर्दाेषीले दुःख पाउन नह’ने भन्दै गगन खड्का (जीवन) ले भने–“रविन्द्र शाहको हत्या कसले र के कारणले गर्यो भन्ने विषयमा हाम्रो पार्टीले पनि घटनाको अध्ययन गर्छ ।” केही दिन भित्रै रविन्द्र शाहको हत्या भएको घटनाका विषयमा केन्द्रिय समितिमा छलफल गरेर घटनाको अध्ययन गर्ने व्युरो ईन्चार्ज खड्काको भनाई रहेको छ । रविन्द्र शाहको हत्या यही चैत्र १५ गते बेलुका तल्लो थाप्लेमा रहेको जिल्ला अस्पताल तल खलंगा–रिम्ना सड्क खण्डमा भएको थियो । शाहलाई ढुङ्गाले हानेर भीरवाट भण्डै २ सय मिटर तल फालिएको थियो ।

rabindra shah

विशेष