विदेश

अमेरिकाले थाल्यो सिरियाविरुद्ध मिसाइल आक्रमण

अमेरिकाले थाल्यो सिरियाविरुद्ध मिसाइल आक्रमण
चैत २५ । अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण थालेको छ । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेपछि सिरियाली शासक बशर अल असदविरुद्ध क्रुर बनेको अमेरिकाले असद सत्ताविरुद्ध आक्रमण थालेको हो । सिरियाको थुप्रै क्षेत्रमा अमेरिकाले ५० भन्दा बढी टामहाक क्रुज मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले जनाएका छन् । प्रहारको निशाना सिरियाली हवाई अड्डाहरुलाई बनाइएको छ । मंगलबार विद्रोही नियन्त्रित क्षेत्रमा असद सत्ताले रासायनिक ग्याँस प्रयोग गर्दा दर्जनौं सर्वसाधारण मारिएका थिए । रासायनिक हतियार प्रहारका लागि प्रयोग गरिएका हवाई अखडाहरुमा आक्रमण गर्न आफूले निर्देशन दिएको राष्ट्रपति डोनल्ड ट्रम्पले प्रष्ट गरेका छन् । उनले सिरियाको द्वन्द्व अन्त्यका लागि सबै सभ्य मुलुकलाई आह्वान पनि गरेका छन् । रासायनिक हतियार आक्रमणको घटनाबाट निकै आक्रोशमा आएको ट्रम्प प्रशासन सिरियाविरुद्धको आफ्नो रणनीति बदल्दै सीधै सैन्य आक्रमणमा ओर्लिएको हो । असद सत्ताले आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरेपछि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले आगामी दिनमा सिरियामा असदको कुनै भूमिका नहुने गरी कदम चालिने प्रतिक्रिया दिएका थिए । राष्ट्रपति असदको शासनविरुद्ध ६ वर्षदेखि लगातार भइरहेको गृहयुद्धमा झण्डै तीन लाख मानिस मारिइसकेका छन् भने लाखौं सर्वसाधारण सिरियाबाट पलायन भएका छन् ।

विशेष