विदेश

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्वारा स्वागत, अझै गर्न आह्वान

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्वारा स्वागत, अझै गर्न आह्वान
चैत्र–२५ । सिरियामाथि अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन् । अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरुले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन् । सिरियाको मध्य भागमा भएको आक्रमण ६ वर्ष लामो द्वन्द्वको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो । ‘यो एउटा हवाई आक्रमणमात्रै पर्याप्त छैन, जनतालाई लक्षित गरेर यहाँ २६ ओटा हवाई आक्रमण भएको छ’–आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुखमध्ये एक मोहम्मद अलौसले ट्वीटरमा लेखेका छन् । राष्ट्रपति बशर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न सम्पूर्ण विश्व लाग्नुपर्ने उनको भनाइ छ । अन्य विद्रोही समूहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासकविरुद्ध निरन्तर यस्तै हमला गर्न आह्वान गरेका छन् । सिरियाली शासकविरुद्ध क्रुद्ध हुनेक्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले शुक्रबार आक्रमण गरेको छ । सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादती गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाइल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताएका छन् । अमेरिकाले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यहीअनुसार नै दिनुपर्ने प्रस्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भर्त्सना गरेको छ । आक्रमणमा परी अहिलेसम्म ६ जना सिरियाली सैनिक मारिएको सिरियाको सरकारी सेनाले दाबी गरेको छ । सिरियाको सरकारी टेलिभिजनले अमेरिकाको आक्रमणलाई ‘अमेरिकी उदन्डता’को संज्ञा दिएको छ । रासस/एएफपी

अमेरिकी आक्रमण आह्वान सिरियाली विद्रोही

विशेष