पूर्वसुरक्षा प्रमुखहरुलाई समेत बोलाएर भारतले के गर्न खोजेको हो !
चैत्र–२६ । भारतले पछिल्लो समय नेपालमा आफ्नो सुरक्षा चासोलाई सरकारी स्तरमा मात्र नभएर जनस्तरमै व्यक्त गर्न थालेको छ । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको पूर्वसन्ध्यामा पूर्व–प्रधानसेनापति सहितलाई निम्त्याएर भारतले देहरादूनमा सुरक्षासम्बन्धी कार्यक्रम गर्न लागेको छ ।
आगामी मंगलबार र बुधबार हुने ‘नेपाल भारत सम्बन्धमा रक्षा र सुरक्षाका विषयहरु’ नामक दुईदिने कार्यशालामा सहभागी हुनेको सूचीमा पूर्वप्रधानसेनापतिद्वय रुकमांगत कटवाल र गौरवशमशेर राणा, सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक किशोर लामा, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधान, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिमल्सिनालगायत छन् ।
उनीहरुले नेपाल र भारतको सुरक्षा सम्बन्ध र खुला सीमालगायत विषयमा दुईदिने विभिन्न सेसनमा बहस गर्नेछन् । कार्यक्रममा भारतका तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजितकुमार डोभल, नेपालमा भारतका पूर्वराजदूतहरु रणजित राय र केभी राजनलगायत सहभागी हुनेछन् ।
कार्यक्रम नेपालमा रहेको नीति अनुसन्धान प्रतिष्ठान र भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद्को संयोजनमा हुन लागेको हो । यसको सबै खर्च भारतीय पक्षले बेहोर्नेछ । यो विषय नेपाली सेना र परराष्ट्रलाई जानकारी छ कि छैन भन्ने खोजी हुन थालेको छ । कार्यक्रममा सीमामा देखा परेका समस्या, व्यवस्थापन, उग्रवाद, आतंकवाद, सीमा अपराध, साइबर क्राइम, दुवै मुलुकका नागरिकको सुरक्षालगायत विषयमा छलफल हुनेछ ।
–कान्तिपुर दैनिकबाट
देहरादून
पूर्वसुरक्षा प्रमुख
भारत
सुरक्षासम्बन्धी कार्यक्रम