News

भेरीको पानी पिउन बाध्य सिम्ताबासी भन्छन, “पानी ल्याउनेलाई हाम्रो भोट”

भेरीको पानी पिउन बाध्य सिम्ताबासी भन्छन, “पानी ल्याउनेलाई हाम्रो भोट”
चैत्र–२६ । सुर्खेत जिल्लाकाे सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउँछन् । बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् उनको भनाइ छ । हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्दछ । वर्षायाममा भेरी नदी पूरै धमिलो हुने भएपछि कपडामा पानी छान्दै खानुपर्ने बाध्यता भएको घर्तीको भनाइ छ । छिन्चु जाजरकोट सडकखण्ड यही राकम भएर जाने भएकाले यहाँका सबै होटलमा समेत भेरी नदीकै फोहोर पानी प्रयोग हुने गर्दछ । महिनैविच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने उनको भनाइ छ । होटलमा पैसा भएका मानिस आएमा प्याक गरेको पानी किनेर खान्छन् पैसा नहुने ग्राहकले भने उही भेरी नदीको पानी पिउन बाध्य हुन्छन् । यहाँका स्थानीयवासीले धेरै पटक केन्द्रीयस्तरका नेतादेखि जिल्लास्तरका नेता अनि कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्छन्, तर काम गर्ने कोही होइनन् राकमका ५६ वर्षीय आइती पुनले दुखेसो पोखिन् । यहाँका पाँच हजार भन्दा बढी घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य भएको आइतीको भनाइ छ । जाजरकोट र सल्यानको सिमानासँग जोडिएको राकम गाउँ वर्षौँदेखि हेपाइमा परेको छ । 'सडक आयो, बिजुली आयो तर पानी आएन', आइतीले पीडा सुनाइन्, 'सुरुमा होटलमा बस्ने ग्राहकहरु राम्रोसँग बस्छन् जब हामीले भेरीको पानी बोकेर ग्राहक र हामीले त्यही प्रयोग गरेको देख्दा पानीको समस्या रहेछ भेरीको पानी कसले खान्छ भनेर हप्काउने गर्छन‍् ।' नजिक खोपानीको मुहान नहुनु टाढाबाट ल्याउने पानी सानोतिनो रकमले नपुग्ने भएपछि वर्षाैँदेखि यहाँका स्थानीयवासी खानेपानीको समस्याबाट वन्चित हुदै आएको अर्का स्थानीय बलबहादुर हमालले बताए । यसपटक जसले समस्या हल गर्छ, जनताका समस्या बुझ्ने प्रतिवद्धता व्यक्त गर्छ उसैलाई हाम्रो भोट हुन्छ । काम नगर्ने तर भोट मात्र माग्नेलाई हामी अमूल्य भोट दिदँनौं बलबहादुरले भने । राकमको खानेपानीको समस्या चरम भएको यहाँका स्थानीयवासी भेरीको पानी खाँदै आएको बाध्यता आफूलाई थाहा भएको सिम्ता गाउँपालिकाका कार्यकारी प्रमुख जनक हमालले बताए । विस्तारै बजारीकरण हुँदै आएको राकममा राज्यले केही लगानी गरी व्यवस्थित सहरको अवधारणा ल्याए यहाँका स्थानीयवासीको जनजीवनमा निकै सुधार ल्याउन सकिने स्थानीय वुद्धीजीवीको भनाइ छ ।

पानी भेरी भोट सिम्ताबासी सुर्खेत

विशेष