विदेश

भारतले बंगलादेशलाई दिने भयो चार अर्ब ५० करोड डलर ऋण

भारतले बंगलादेशलाई दिने भयो चार अर्ब ५० करोड डलर ऋण

चैत - २६ । भारत तथा बंगलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब ५० करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउनेसहित अनेकौं सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत् रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बंगलादेशका उनका समकक्षी सेख हसिनाबीच नयाँदिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उनीहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध संघर्षका लागि सहयोगका विषयमा पनि छलफल गरेको बताइएको छ । दुबैपक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बंगलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने साथमा २२ ओटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ । दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यसअन्तर्गत् नयाँदिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ । भारतीय प्रधानमन्त्री मोदीले बंगलादेशी समकक्षी हसिनाले भारत–बंगलादेशबीच सम्बन्धको ‘स्वर्णयुग’मा भ्रमण गरेको र भारत बंगलादेशका लागि लामो समयसम्मको विश्वासिलो विकास साझेदार भएको बताए । भारत तथा बंगलादेशबीच चार हजार १०० किलोमिटर लामो सीमा रहेको छ ।एपी

भारत-बंगलादेश

विशेष