News

मतदाना सामाग्री अाजदेखि जिल्ला पठाइदै

मतदाना सामाग्री अाजदेखि जिल्ला पठाइदै
चैत - २६ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु गरेको छ । आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए । मतदाता शिक्षासम्बन्धी पोस्टरमा निर्वाचन आचारसंहिता किन र कसले पालना गर्नुपर्छ, गाउँसभा र नगरसभामा निर्वाचित हुने पदाधिकारी, मतपत्र लिने, सातवटा अलगअलग चिह्नमा स्वस्तिक चिह्न लगाउने, मतपत्र पट्याउने र खसाल्ने विषय समेटिएको छ । त्यस्तै मतपत्र बदर हुने अवस्था, मतदानको समय, मतदानका लागि लाइनमा बस्ने तरिका, मतदान गर्नुपर्ने कारणलगायतका विषय पनि शैक्षिक सामग्रीमा समेटिएका छन् । आयोगले आगामी निर्वाचनका लागि झन्डै ५५ लाख थान मतदाता शिक्षा सामग्री मुद्रण गरिएको जनाएको छ । बाँके, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, डडेल्धुरा, अछाम, बाजुरा, बझाङलगायतका जिल्लाका लागि आवश्यक मतदाता शिक्षा सामग्री बोकेका गाडी आयोगबाट प्रस्थान गरिसकेका छन् । मुलुकका ५४ जिल्लाका लागि त्यस्ता मतदाता शिक्षासम्बन्धी सबै सामग्री प्याकिङ भइसकेको आयोगले जनाएको छ । ठूलो मतपत्र, निकैपछि हुन लागेको स्थानीय तहको निर्वाचन, एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई चुन्नुपर्ने अवस्था र मतदाताको अमूल्य मत बदर भएर खेर नजाओस् तथा मतदान गर्ने सन्दर्भमा मतदाता अलमलमा नपरुन् भनेर आयोगले आगामी स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई घरदैलोमा पुर्याउन लागेको हो । मतदाता शिक्षाका लागि यही वैशाख १ गतेदेखि २१ हजार स्वयंसेवक मतदाताको घरदैलोमा खटिने छन् । सो क्रममा एकजना स्वयंसेवीले कम्तीमा पनि ७०० देखि एक हजारसम्मलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराउनुपर्नेछ । स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने सिलसिलामा निकै महत्वपूर्ण विषयका रुपमा रहेको मतदाताको परिचयपत्र वितरणको काम आयोगले आगामी वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट गर्ने निर्णय गरेको छ । हरेक मतदान केन्द्रबाट मतदातालाई सहज र सरल ढङ्गले मतदाता परिचयपत्र वितरण गर्न चैत २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुग्ने व्यवस्था मिलाइनुपर्ने निर्णय आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । परिचयपत्र सकेसम्म सम्बन्धित मतदाता आफैँ लिनुपर्ने यदि त्यो हुन नसकेमा परिवारको सदस्यमार्फत भर्पाई गरेर लिन सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिए । मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउन पनि आयोगले मतदान अधिृकतलाई निर्देशित गरेको छ । त्यस्तै निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि यही चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको छ । आजसम्म सङ्घीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्ति पार्टी नेपाललगायतका ३६ वटा राजनीतिक दरले हस्ताक्षर बुझाइसकेको आयोगले जनाएको छ । वैशाख १६ गते उम्मेदवारको मनोनयन गर्दा कुन दलको कुन उम्मेदवार हुन् भनेर छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले यस्तो निर्णय गरेको हो ।  

nirbachan Nirbachan 2074

विशेष