विदेश

भेनेजुएलामा प्रहरी र प्रदर्शनकारीबीच झडप

भेनेजुएलामा प्रहरी र प्रदर्शनकारीबीच झडप
चैत्र–२७ । भेनेजुएलामा गत हप्ता भएका चार वटा ठूला प्रदर्शनमध्ये शनिबार भएको पछिल्लो प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । राष्ट्रपति निकोलस माडुरो र उनको सरकार विरुद्ध भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो । विपक्षी दलका नेता हेनरिक काप्रिलेसलाई १५ वर्षसम्म राजनीति गर्न रोक लगाउने सरकारको निर्णयप्रति आक्रोसित भएकाहरुले बृहत र्यालीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झन्डै चार हजार जनसहभागीता रहेका थिए । भेनेजुएलाको समाजवादी आन्दोलनका पिता मानिने ह्युगो चाभेजको निधनपछि शक्तिमा आएका माडुरोसँग काप्रिलेस सन् २०१३ मा भएको राष्ट्रपतीय निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । माडुरोको सरकारले गत शुक्रबार ४४ वर्षीय काप्रिलेसलाई आगामी वर्ष आम निर्वाचन हुन लागिरहेका बेला १५ वर्षे प्रतिबन्धको घोषणा गरेको थियो । घोषणासँगै सुरु भएको प्रदर्शन थप चर्को र बृहत हुँदै गएको प्रदर्शनकारीहरुले जनाएका छन् । शनिबारको प्रदर्शनमा कम्तीमा दुई जना प्रहरी माथि कडा बोतल प्रहार भएको छ । यस्तो प्रदर्शन भेनेजुएलाको राजधानी बाहेकका अन्य सहरहरुमा पनि भएको प्रदर्शनकारीहरुले बताएका छन् । “साह्रै धेरै भ्रष्टाचार, भोकमरी र गरिबीका कारण यहाँका जनता आजित भइसकेका छन्,” एक विद्यार्थीले भने । देशमा गरिवी हुनुमा माडुरोलाई नै उनीहरुले मुख्य दोषी मानेका छन् । उनीहरुले आगामी हप्ता पनि प्रदर्शन गर्ने योजना बनाएका छन् । रासस/एएफपी

झडप प्रदर्शनकारी प्रहरी भेनेजुएला

विशेष