चितावनका भूकम्पपीडितलाई दुई वर्षपपछि पहिलो किस्ता
चैत्र - २९ । भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा चितावनका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरणका लागि आजदेखि सम्झौता थालिएको छ । भूकम्पले प्रभावित क्षेत्रमा पर्ने हालको इच्छाकामना गाउँपालिका साविक दारेचोक गाविसमा एक कार्यक्रमको आयोजना गरी पहिलो किस्ता वितरणका लागि सम्झौता थालिएको हो ।
भूकम्पबाट क्षति भएका १७ जिल्लाभित्र चितवन पर्दछ । चौध जिल्लाभित्र परेकाले दोस्रो र तेस्रो किस्ता पाउने बेलामा चितवनमा भने पहिलो किस्ताको रकम बाँड्ने सम्झौता थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक हरिशङ्कर बुढाथोकी, राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणका परामर्शदाता महेश महर्जनलगायतको उपस्थितिमा सम्झौताको थालनी गरिएको हो । सम्झौतापछि पीडितको खातामा पहिलो किस्ताबापत ५० हजार जम्मा हुनेछ ।
सो गाउँपालिकाका पीडितको हकमा सोही गाउँपालिकामा रहेका कृषि विकास बैंक र गरिमा विकास बैंकमा खातामा जम्मा हुने व्यवस्था गरिएको छ । औपचारिक शुभारम्भ कार्यक्रमपछि सम्बन्धित वडा कार्यालयबाट पीडितसँग राहतका लागि सम्झौता थालिएको स्थानीय विकास अधिकारी सुवेदीले जानकारी दिए ।
भूकम्पलगत्तै जिल्लाका पहाडी गाउँसहित १८ हजार ७५२ घरपरिवारले भूकम्पबाट प्रभावित भएको भन्दै दैविक प्रकोप उद्धार समितिमा निवेदन दिएका थिए ।
राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणको इञ्जिनियर सहितका टोलीले सर्वेक्षण गरी १५ हजार २७० घरपरिवारको सूची तयार पारेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले बताउनुभयो । यद्यपि घरको अवस्थाका बारेमा छानबिन भइरहेकाले राहत पाउने सबैको यकिन सूची भने केही दिनमा सार्वजनिक गरिने उनले जानकारी दिए ।
जिल्ला समन्वय समिति चितवनका प्रकोप सम्पर्क व्यक्ति लुईंटेलका अनुसार यकीन क्षतिको विवरण तत्कालीन दारेचोक, सिद्धि र लोथर गाउँको आएको छ । जसमध्ये दारेचोक एक हजार ११५, सिद्धि २९४ र लोथर ४४० घरपरिवार रहेका छन् ।
पहिलो किस्ता पाएका पीडितले घर डिपिसी सम्पन्न गरेपछि रु एक लाख ५० हजारको दोस्रो किस्ता पाउनेछन् भने काम सम्पन्न भएपछि बाँकी रु एक लाख पाउने लुईंटेलले बताए।
भूकम्पपीडित