News

मतपत्र र मतदाता परिचयपत्र छपाइ कार्य अन्तिम चरणमा

मतपत्र र मतदाता परिचयपत्र छपाइ कार्य अन्तिम चरणमा
चैत - ३०। निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गले सम्पन्न गराउनमा निर्वाचन अधिकृतको महत्वपूर्ण भूमिका हुने गरेको बताएका छन् । निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयद्वारा बुधबार आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उनले सो बताएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र छपाइका कार्य अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले निर्वाचन सम्पन्न गराउन पर्याप्त समय नभएपनि काम तीव्र गतिमा भइरहेको बताए । विराटनगर उच्च अदालतका कामु मुख्यन्यायाधीश विदुरविक्रम थापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयररहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबै पक्ष रहेको बताए । उनले निर्वाचन पवित्र कार्य भएको बताए । उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहालले कानुनको अधीनमा बसेर आचारसंहिताको पालना गर्दै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा प्रजिअ यज्ञराज शर्मा, निर्वाचन आयोग क्षेत्रीय कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल, निर्वाचन आयोगका उपन्यायाधिवक्ता घनश्याम ओझाले निर्वाचनका सन्दर्भमा देखिएका विभिन्न विषयमा प्रकाश पारेका थिए । उक्त दुईदिने सो प्रशिक्षणमा झापा, सुनसरी, धनकुटा, भोजपुर र सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी ६० जनाको सहभागिता छ ।

निर्वाचन आयोग

विशेष