News

'उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम'

'उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम'

चैत्र - ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन्। भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बुधबार आयोजित सिसं ५५ अधिकृत क्याडेट तालिम र सिसं ४५ पदिकर हुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्रीले राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिए। उनले भने,'राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनुकरणीय योगदान दिँदै सेनाले नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामु परिचित गराउन कुनै कसर बाँकी राखेको छैन।' आफ्नो पेसासँग मात्र आबद्ध नभई नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा समेत अग्रस्थानमा रही इमान्दार र पेसेवर ढङ्गबाट उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम रहेको उनले उल्लेख गरे। नेपाली सेनाको व्यावसायिक उत्कृष्टताको सञ्चार अब विदेशी सेनाको माझसमेत अनुकरणीय बनेको कुरा नेपालको शिक्षण संस्थानमा हालैका दिनमा भएका विदेशी शिक्षार्थी आदान–प्रदानबाट प्रस्ट भएको प्रधानमन्त्रीले बताए। उनले भने, 'सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयङ्गम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतका रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रही बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैव अडिग रही समर्पित रहनेछ।' कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतको सहभागिता रहेको थियो।
उत्कृष्टलाई सम्मान दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले कार्यक्रममा सम्मान गरेका थिए। सिसं ५५ अधिकृत क्याडेट तालिममा पुरुषतर्फ नवलपरासी, दुम्कीबासका दीपेन्द्र बराल, महिलातर्फ मनमैजु, काठमाडौँका करिश्मा मानन्धर र अन्तर्राष्ट्रिय अधिकृत क्याडेटतर्फ बङ्गलादेशका एमडी मनिरुजमान सर्वोत्कृष्ट भए । त्यसैगरी सिसं ४५ का पदिकरहुद्दा क्याडेट तालिममा काठमाडौँ, नागार्जुनका अमित लामा सर्वोत्कृष्ट भए। मित्रराष्ट्र केन्या र बङ्गलादेशका शिक्षार्थी सहभागी भएको सो तालिममा सिसं ५५ अधिकृत क्याडेटतर्फ १२ महिलासहित एक सय १३ जना र सिसं ४५ पदिकरहुद्दा क्याडेट तालिममा १८ जना नेपाली प्रशिक्षार्थी सहभागी थिए।

Nepalese Army Puspakamal Dahal

विशेष