विदेश

कोरियाली प्रायद्वीप र सिरियाको विषयमा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच फोनवार्ता

कोरियाली प्रायद्वीप र सिरियाको विषयमा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच फोनवार्ता
चैत्र - ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले बुधबार फोनवार्ता गरेका छन्। दुई नेताले फोनमा सिरियाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गरेका छन्। त्यसैगरी उनीहरूले उत्तर कोरियाको विषयमा पनि कुराकानी गरेका छन्। कोरियाली प्रायद्वीपमा हालै भएको आक्रमणबाट विश्वमा नै तरङ्ग उत्पन्न भएको जनाइएको छ। कोरियाली प्रायद्वीपमा भएको हमलाका कारण विश्वमा नै शान्तिको सिद्धान्तको उल्लङ्घन भएको बताइएको थियो। सो विषयमा पनि उनीहरूबीच फोनमा कुराकानी भएको थियो। त्यसैगरी सिरियामा भएको पछिल्लो हमलामा सरकारी सेनाले नै रासायनिक हतियारको प्रयोग गरेको बारेमा उनीहरूबीच कुराकानी भएको थियो। सिरियामा पछिल्लो समयमा गैरकानुनी हमला भइरहेको छ। सो विषयमा विश्वव्यापी रूपमा चर्चा सुरु भएको छ। कुराकानीमा दुबै नेताबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सो विषय हेर्नुपर्ने सहमति भएको बताइएको छ। उक्त परिषद् यस मुद्दामा एक भएर रहने र अमेरिका र चीनले यस मुद्दामा एउटै आवाज उठाउनुपर्नेमा सहमत भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ। चिनियाँ राष्ट्रपति जिनपिङले चीन र अमेरिकाले आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीनको भ्रमण गर्ने भएका छन्। सो भ्रमण अमेरिकी चीन सम्बन्ध विस्तार र सुदृढीकरणमा सक्षम हुने बताइएको छ। सो भ्रमणका बारेमा पनि बुधबार भएको फोनवार्तामा चर्चा भएको बताइएको छ। कूटनीति, सुरक्षा, व्यापार र कानुनजस्ता विभिन्न चार विषयमा द्विपक्षीय संयन्त्रको निर्माण गरी आपसी हितमा काम गर्ने विषयमा उनीहरूबीच छलफल भएको र जसले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा सहजता थप्ने उनीहरूबीच सहमति भएको थियो। उत्तर कोरियाले दक्षिण कोरियालाई लक्ष्य गरेर आक्रमण गर्ने गरेको छ। यसले गर्दा विगत लामो समयदेखि कोरियाली प्रायद्वीपमा विवाद उत्पन्न हुँदै आएको छ।

डोनाल्ड ट्रम्प सि जिनपिङ

विशेष