News

टेलिफोन टावर बनाउनेलाई भोट

टेलिफोन टावर बनाउनेलाई भोट
दीपबहादुर घर्ती
जाजरकोट, बैशाख - १ । साविकको रग्दा गाविस ४ रोलीका नरबहादुर ध्यार स्थानीय निकायको पुर्नसंरचनापछि नगरबासी भएका छन् । अहिले उनी त्रिवेणीनलगाड नगरपालिकाका स्थायी बासिन्दा हुन् । तर, उनको गाँउमा न त विद्युत सेवा छ न संचार सुविधा नै । जाजरकोट डोल्पा बाटोले गाँउलाई छोएको भएपनि नियमित र भरपर्दो यातायात सेवा संचालनमा छैन । ‘गाँउमा टेलिफोनको टावर नहुँदा फोनले काम गदैन । टेलिफोन गर्न चार घण्टा पैदल हिडेर रुकुमको राडीबजार जानु पर्छ’ ध्यारले भने, 'त्यसैले हाम्रो समस्या बुझ्ने र तत्काल टेलिफोनको टावर बनाउन पहल गरिदिने नेता र पार्टीलाई भोट दिन्छौ।’ जिल्लाको त्रिवेणीनलगाड नगरपालिकाका रग्दा, रोली , चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसंचारका कुनै साधनले काम गर्छन् । पत्रपत्रिका र टेलिभिजनको त कुरै छोडौ ति गाँउमा रेडियो सम्म सुनिदैन । यी तिन ओटा गाँउमा एफएम रेडियोको पहुँच समेत छैन । चौखाका किशोर मल्लले भने एनटिसी, स्काई र एनसेल कुनै पनि फोनले काम गर्दैनन् । फोन सुविधा नहुँदा ति गाँउका स्थानिय निकै मर्कामा परेका छन् । शहर तथा विदेशमा रहेका आफन्तलाई सम्पर्क गर्नु परे एक कल फोन गर्न आतेजाते गरी ४ सय रुपैया खर्चेर रुकुमको राडीबजार गएर फोन गर्नु पर्ने बाध्यता रहेको छ । टावर निर्माणका लागि राजनैतिक दलका नेता देखि सम्वन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाई नभएको मल्लले बताए । उनले यसपटकको स्थानिय तहको निर्वाचनमा जसले हाम्रो मागलाई सम्बोधन गर्छ त्यसैलाई जिताउँछौ । जुन नेता र पार्टीले विश्वास दिलाउँछ पूरै गाँउलले त्यही पार्टीलाई भोट हाल्ने निर्णय भएको उनले बताए । गत संविधान सभाको निर्वाचनमा काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका पार्टीका उम्मेदवारले यहाँको टेलिफोन समस्या समाधानका लागि टावर निर्माणमा आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका थिए । 'माओवादी केन्द्रबाट उम्मेद्धवार भएका शक्तिबहादुर बस्नेत गृहमन्त्रीसम्म भए तर, उनले समेत फर्केर हेरेनन्' रोलीकी माया रावतले भनिन् । चुनावपछि कुनै पनि नेता ति गाँउ गएका छैनन् । रग्दा गाँउमा ६०, रोली गाँउमा ९१ र चौखा गाँउमा स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी, खाद्य डिपो सहित ४५ घर छन् तर, ति गाँउमा टेलिफोन र संचारका कुनै पनि साधनले काम नगर्दा स्थानिय समस्यामा परेका छन् । आन्तरिक संचारदेखि देशविदेशका खवर लिनबाट बञ्चित हुनु परेको स्थानियको गुनासो छ । ठुली भेरीको किनारमा रहेका ति गाँउको पाल्लोपट्टी रुकुमको गोतामकोटको ठुलो पहाड पर्छ भने यतापट्टी रग्दाकै ठुलो पहाड पर्छ खोचमा भएकाले संचारका कुनै पनि साधनले काम नगर्ने स्थानियको भनाई छ । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने सुन्दर ती गाँउमा संचार सुविधाको विकास गर्न र विद्युत सेवाको स्थानियले माग गरेका छन् ।

मनमई केन्द्र बनाउनेलाई भोट

त्रिवेणीनलगाड नगरपालिका खगेनकोटका तिलकबहादुर खत्री नगरपालिकाको केन्द्र खगेनकोटको मनमईमा गराउने प्रतिवद्धता गराउने उम्मेद्धवारलाई भोट दिने बताउँछन् । मनमई नजिकै घर भएका खत्री नेपाली काँग्रेसका पुर्व गाँउ कार्य समितिका सभापति हुन् । मनमईमा केन्द्र बनाउन पार्टीमै लविङ्ग गरेपनि सफल नभएपछि उनी पार्टीकै नेताहरुप्रति आक्रोशित भएका छन् । राजपत्रमा त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र खगेनकोटको मनमइमा तोकिएको थियो । चैत्र १ गते सदरमुकाममा वसेको सर्वदलिय वैठकले राजपत्रमा प्रकासित भएको ठाउँलाई परिवर्तन गरी पायक पर्ने भन्दै खगेनकोटकै दल्लीमा तोकेपछि खत्री जस्तै मनमई, मैदे, खगनेकोट, रग्दा र भगवतीका स्थानीयहरु आक्रोसित भएका हुन् । साविकका रग्दा, भगवती, खगेनकोट, लहँ र डाडागाउँ गाविसको विच सेन्टरमा मन्मै पर्ने भएपनि सर्वदलिय वैठकले दल्लीमा सारेपछि स्थानीयहरु आफूलाई अनुकूल नपर्ने भन्दै आक्रोशित भएका छन् । आक्रोसित स्थानियले मनमई केन्द्र अस्वीकार गर्ने जुनसुकै पार्टीका उम्मेदवारलाई पनि भोट नदिने चेतावनी दिएका छन् । माओवादी केन्द्रका स्थानिय नेता समेत रहेका बुद्धि गुरुङ्गले नगरको केन्द्रमा बदमासी गर्ने आफ्नै पार्टीका उम्मेदवारलाई पनि भोट नदिने ठोकुवा गरे । मनमई केन्द्र बनाउन प्रतिबद्धता गर्ने जुनसुकै पार्टीको भएपनि भोट दिने बताए । तर लहँ, डाँडागाँउ र दल्लीका स्थानियले पायक पर्ने दल्ली भएकोले केन्द्र दल्लीमै हुनु पर्ने अडान लिएका छन् । विवादका कारण दुई ठाँउमा केन्द्र उद्घाटन गरिएपनि हाल कुनै पनि कर्मचारी कुनैपनि ठाँउमा गएका छैनन् । उक्त नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र सिंह केन्द्र विवादका नगरपालिकामा गएका छैनन् ।

जाजरकोट

विशेष