अमेरिकालाई उत्तर कोरियाको चेतावनीः परमाणु अस्त्रले जवाफ दिन नपरोस्
काठमाडौं । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा उत्तेजनात्मक गतिविधि नगर्न अमेरिकालाई चेतावनी दिदैँ कुनै कारबाही गरिए परमाणु अस्त्रले जवाफ दिने बताएको छ ।
आफ्ना संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिन मनाइरहँदा उत्तर कोरियाको पछिल्लो धारणा सार्वजनिक भएको हो । उत्तर कोरियाले राजधानी प्योङयाङमा शनिबार सैन्य शक्ति प्रदर्शन गरेको थियो ।
हामी कुनै पनि पूर्ण प्रकृतिको युद्धलाई त्यसै अनुसारको जवाफ दिन तयार छौँ, ‘उत्तर कोरियाली सैनिक अधिकारी चोइ र्योङ हेइले भने, ‘कुनै पनि परमाणु आक्रमणको जवाफ हामी आफ्नै शैलीको परमाणु हमलाबाट दिन तयार छौँ।’
अमेरिकासँगको चुलिँदो तनावले द्वन्द्व निम्त्याउनसक्ने चिन्ता व्यक्त भइरहँदा शनिबार आयोजित कार्यक्रममा भव्य रुपमा सैन्य शक्ति प्रदर्शन गरिएको थियो ।
राजधानी शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले शनिबार कवाज र ‘मार्च पास’ प्रदर्शन गरेका थिए । प्रदर्शनीमा पहिलो पटक पनडुब्बीलाई मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र पनि देखाइएको थियो।
उक्त क्षेप्यास्त्रको क्षमता अभिवृद्धि गरी त्यसलाई विश्वको कुनै पनि निशानमा मार हान्न सक्ने बनाउन सकिने बताएको छ । उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ ।
अमेरिकाबाट निरन्तर परमाणु कार्यक्रम अन्त्य गर्न दबाब खेपिरहेको उत्तर कोरियाका लागि उसका कार्यक्रमको महत्व पछिल्लो सैन्य प्रदर्शनीले पनि स्पष्ट पारेको प्योङयाङमा रहेका बीबीसी संवाददाता जन सुडवर्थ बताउँछन् ।
हालै अमेरिकी सेनाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ।
उत्तर कोरियाले पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृंखलावद्ध रुपमा क्षेप्यास्त्रहरुको परीक्षण गरिएको छ ।